आशा लघुवित्त वित्तीयको आईपिओ खुल्यो

जागरण न्युज

काठमाडौं, १८ माघ । आशा लघुवित्त वित्तीय संस्थाले आज (माघ १८ गते) देखि ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गरेको छ । लघुवित्त कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

लघुवित्तले निष्काशन गर्ने कूल ६ लाख ७४ हजार कित्तामध्ये १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका इकाईलाई छुट्टाइएको छ भने, ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । सर्वसाधारणले जसमा न्यूनतम १० कित्तादेखि ३ हजार ३७० कित्तासम्म आवेदन गर्न सक्ने छ ।

लघुवित्तले निष्काशन गर्न लागेको आईपिओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको बुझाउँछ ।

नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सक्नेछन् भने मेरो शेयर प्रयोगकर्ताले उक्त सफ्टवेयर मार्फत माघ २२ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

हाल १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपिओ जारी गरेपछि २० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी पुग्ने छ ।
‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएकोले यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको बुझाइएकोले सर्वसाधारणले विचार पुर्याउनुपर्ने देखिन्छ ।

गत भदौ १७ गते आईपिओ निष्काशन गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको लघुवित्तले पुस २९ गते स्वीकृति पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्