प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्त गर्ने तयारीमा सरकार

काठमाडौं । सरकार प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्त गर्ने तयारीमा रहेको छ ।

केहि दिनअघि मात्रै सरकारले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्त गर्ने तयार गरेको थियो तर कम्युनिष्ट गठबन्धनले विरोध गरे पछि अस्थगित गरेको वर्तमान सरकारले बढीमा १० पुसभित्र नियुक्त गर्ने अन्तिम गृहकार्य भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन ।

अस्थायी मुकाम तोक्नुपूर्व सरकारले विभिन्न संभावित क्षेत्रहरुको अध्ययन गरेको थियो । सरकारले एउटा प्रदेशका लागि दुई वा त्यो भन्दा बढी क्षेत्र प्रस्ताव गरेको थियो । तर निर्वाचन लगत्तै ती क्षेत्रबाट स्थानीय दलका प्रतिनिधीले आफ्नो क्षेत्रलाई प्रदेशको अस्थायी मुकाम तोक्न दवाव दिइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रदेश नं ५ कालागि बुटवल र दाङ मध्य एक बनाउने आआफ्नो दवाव रहेको छ । यस्तै प्रदेश नं ३ को राजधानी ललितपुर र भक्तपुरलाई बनाउन छुट्टा–छुट्टै लविङ भइरहेका छन् । प्रदेश नं ४ बाहेक हरेक प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्नेबारे विवाद छ ।

सरकारले प्रदेशको राजधानी तोक्न सकिने सबै सम्भावित क्षेत्रमा प्रदेश कार्यालय रहने भवनहरुको अध्ययन भएको जनाएको छ । प्रदेशको अस्थायी मुकाम कुन ठाउँ तोक्ने भन्ने पनि तयारी करिब पुरा भएको र प्रदेश प्रमुख तोक्न केही गृहकार्य बाँकी रहेकाले मुकाम तोक्न समेत ढिलाइ भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्