काठमाण्डौ , माघ १७ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकार अधिनायकवादी बाटोमा अघि बढ्न खोजेको भन्दै त्यसको विरोध गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेता रिजालले प्रतिपक्षी दलको विरोधको आवाजलाई दुई तिहाईको दम्भबाट दबाउने गरी सरकार अधिनायकवादी शैलीमा अघि बढ्न खोजेको भन्दै कांग्रेसले सरकारलाई अधिनायकवादी बाटोमा हिँड्न नदिने चेतावनी दिएका हुन् ।
‘कांग्रेस त देखेकै छैन भन्छ सरकार । कांग्रेस देखेकै छैन भन्नुहुन्छ प्रधानमन्त्री’, रिजालले भने, ‘कांग्रेसलाई राणा र राजाले पनि नदेख्दा के हालत भयो हेर्नुहोला ।’
लोकतन्त्रलाई उपहास गर्नेहरु इतिहासमा सीमित हुँदै गएको भन्दै उहाँले त्यो बाटोमा नहिँड्न सरकारलाई सचेत गराए । ‘कांग्रेसलाई राणाले पनि देखेनन् । जुन बेला देखे धेरै ढिला भइसकेको थियो । कांग्रेसलाई महेन्द्रले पनि देखेनन् । महेन्द्रको व्यवस्थालाई प्रजातन्त्र पुनःस्थापना गरेर बिदा गर्यो । ज्ञानेन्द्रले देखेनन् कांग्रेसलाई । ज्ञानेन्द्रलाई बिदा गरियो । राजतन्त्रको अन्त्य भयो ।’ नेता रिजालले भने, ‘कांग्रेस नदेख्नेहरुको लाममा कोही पनि उभिएको छ भन्दा हामीलाई धेरै ठूलो चिन्ता लाग्दैन । कांग्रेस नदेख्नेहरुले कांग्रेसलाई देख्नै पर्छ । लोकतन्त्रलाई नदेख्नेहरुले लोकतन्त्रलाई देख्नै पर्छ । त्यो भन्दा अर्को बाटो निर्माण हुन सक्दैन ।’
दुई तिहाईको दम्भमा रहेको सरकारले निरीह सत्याग्रही डा।गोविन्द केसीको बोली दबाउन शक्ति प्रयोग गरेको आरोप लगाए ।
सरकारकै प्रवक्ता एवं मन्त्रीले गोविन्द केसीसँग कुरा गर्न आवश्यक छैन भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएर अंहकार र दम्भ देखाएको भन्दै उनले लोकतन्त्रको सही मार्ग समात्न सरकारलाई सचेत गराए ।
उनले दुई तिहाईको दम्भको सरकार सत्याग्राहीसँग लडाई गर्न उद्धत रहेको देखिएको बताए ।
‘अहंकार र दम्भको शासन झुक्छ भन्ने डरले सरकारले डा। केसीसँग वार्ता गर्न नखोजेको हो’, भन्ने प्रश्न गर्दै उनले भने, ‘होइन भने अझैसम्म डा।केसीको जीवन रक्षाको पहल किन हुन सकेन ?
उनले वार्ता र संवादबाट तत्काल समस्या समाधान निकाल्न सरकारको ध्यानाकर्षण गराए ।
सरकारले विधिलाई कुल्चिएर प्रमुख प्रतिपक्षी दलको प्रतिनिधित्व नभएको बेला आयोगका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको भन्दै उनले आपत्ती पनि जनाए।
यस्तै सभामुखको भूमिका उत्तरदायी नभएको भन्दै उनले सरकारको निर्देशनमा नभई संसदीय मर्यादालाई उचाइमा पुर्याउने बाटोमा अघि बढ्न सभामुखको ध्यानाकर्षण गराए ।
सरकार गठन र विघटनका लागि मात्रै संसद नबनेको भन्दै सरकारलाई जनउत्तरदायी र प्रभावकारी बनाउन पनि संसदको भूमिकामा महत्वपूर्ण रहेको बताए।
प्रतिक्रिया दिनुहोस्