जागरण न्युज
काठमाडौं, १७ माघ । युनिभर्सल पावर कम्पनीले सर्वसाधारणलाई माघ २५ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्दा नबिकेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।
यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ८६ लाख ७४ हजार ४९२ कित्तामा सर्वसाधारणलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।
यस आइपीओमा माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर नबिकेमा भने फागुन २६ गतेसम्म भर्न सकिने व्यवस्था छ । आइपीओमा न्यूनतम ५० कित्ता देखि अधिकतम ५० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वाबाट आवेदन दिनुपर्नेछ ।
कम्पनीले पुस १५ गतेदेखि माघ १३ गतेसम्म २१ लाख ३५० कित्ता दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयलाई बिक्री खुला गरेको थियो । तर यसमा स्थानीयले ३ लाख ३४ हजार २०० कित्ताका लागि मात्र आवेदन दिएका थिए ।
कम्पनीले दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत २ अर्ब ४ करोड ६० लाख रुपैयाँ रहेको छ । यसको विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष रहेको छ ।
युनिभर्सलको आइपीओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसको जारी पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले आगामी आर्थिक वर्षमा १९ करोड ५३ लाख र आव २०७७/०७८ मा २१ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्