यसरी हुदै छ सबै निर्वाचन क्षेत्रको मतपरिणामलाई एकिकृत गर्ने कार्य,
काठमाडौं । निर्वाचन आयोगमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० वटै निर्वाचन क्षेत्रको मतपरिणामलाई एकिकृत गर्ने काम जारी राखेको छ ।
प्रतिनिधिसभाको मतपरिणामलाई एक ठाउँमा र सातवटा प्रदेशका सातवटै ठाउँमा एकीकृत गरी ती तथ्याङकहरुलाई रुजु गर्ने कार्य जारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार केही दिनभित्रै दलहरुले प्राप्त गर्ने सिटको बाँडबाँड गरिनेछ । प्रतिनिधि सभाको १६५ निर्वाचन र प्रदेशसभाको ३३० वटै निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले हस्ताक्षर गरेको लिखित आधिकारिक कागजातका आधारमा मतपरिणामलाई केन्द्रीय स्तरमा एकमुष्ट बनाउने कार्य भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताएका छन् ।
प्रतिनिधिसभातर्फ ४९ राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारहरुको बन्दसूची आयोगमा बुझाएका छन् । त्यसैगरी, प्रदेशसभातर्फ ५३ वटा राजनीतिक दलले उम्मेदवारहरुको बन्दसूची बुझाएका छन् । मतपरिणामलाई रुजु गर्ने कार्य सकेपछि प्रतिनिधिसभातर्फ तीन प्रतिशत वा सोभन्दा माथि मत प्राप्त गर्ने र त्योभन्दा घटी मत प्राप्त गर्ने दलको सूची तयार गरिने छ । तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलहरुको सूचीलाई एकातिर राखी तीन प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने दलको सिट बाँडफाँड प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ ।
यसैगरी, सातवटै प्रदेशको अलग–अलग प्रादेशिक मतपरिणामलाई एकीकृत गरी डेढ प्रतिशत वा सोभन्दा बढी र कम पाउने दलहरूको सूची बनाइने छ । तोकिएको मतप्रतिशतभन्दा बढी मत प्राप्त गर्ने दलहरूको मतलाई ‘सेन्ट लग’ विधिबाट सिट विभाजन गरी कुन राजनीतिक दलले कति सिट सङख्या प्राप्त गरेको विवरण तयार भएपछि सो विवरणलाई आयोगको बैठकमा प्रस्तुत गरी निर्णय हुने प्रवक्ता ढकालले बताए ।
आयोगको निर्णयपछि दलहरुले प्राप्त गरेको सिट सङख्या सम्बन्धित राजनीतिक दललाई पठाइने छ । समानुपातिक निर्वाचन इकाइले तयार पारेको तथ्याङकका आधारमा आयोगले दललाई सिट सङख्या बुझाउने, दलहरुबाट बन्दसूचीमा रहेका उम्मेदवारको विवरण प्राप्त गर्ने र त्यसपछि दलबाट प्राप्त अन्तिम नामलाई निर्वाचित उम्मेदवारको रुपमा घोषणा गरिने छ ।
प्रतिक्रिया दिनुहोस्