काठमाण्डौ, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरमा रहेको शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
उनले देशमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्नेबताएका छन् ।
प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षामार्फत देशलाई आर्थिक रुपान्तरणको चरणमा लाने समय आएको उल्लेख गरे ।
उनले भने, “सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्न आजको दिनमा सबै फेरि सङ्कल्प गरौँ, जनमतलाई सम्मान गर्दै विधिको शासन कायम गरी अधिकारको समानतासहित देशलाई समुन्नत र विकासशील बनाएर भावी पुस्तालाई सुम्पौँ ।” मुलुकमा प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति गर्ने शहीदलाई सम्मान गर्न प्रधानमन्त्री ओली लैनचौर पुग्नुभएको हो । यही अवसरमा नेपाली सेनाको टुकडीले सम्मान अर्पण गरेको थियो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारको समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य पूरा गरेर शहीदको सपना पूरा गर्ने समय आएको बताए । कार्यक्रममा मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, विशिष्ट कर्मचारी र जनप्रतिनिधिको सहभागिता थियो ।
दिवसका अवसरमा बुधबार काठमाडौँ महानगरपालिकाले प्रभातफेरिको आयोजना गरेको थियो । गृहमन्त्री रामबहादुर थापालगायत विशिष्ट व्यक्ति र नागरिकको सहभागितामा रत्नपार्कस्थित शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरि लैनचौर पुगेर समापन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्