मनाङमा १० वर्षयताकै उच्च हिमपातः कार्यालयहरु नै पुरिए, फोन, इन्टरनेट, विद्युत् सेवा अबरुद्ध

काठमाडौं,माघ १६। ६ दिनदेखि लगातार परेको हिमपातले मनाङका सरकारी कार्यालय तथा स्थानीय तहको सेवा प्रभावित भएको छ ।
५ फिटसम्म जमेको हिउँले कार्यालयहरु खुलाउन नसकिएकाले सेवा नै प्रभावित भएको हो । कतिपय कार्यालयहरुका ढोकामै हिउँ जमेकाले समस्या भएको छ ।
हिउँ हटाएर कार्यालय खोल्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।
कार्यालय तथा सडकमा जमेको हिउँ पन्छाएर सेवा सुचारु गर्न नेपाली सेना, नेपाल प्रहरी र कर्मचारी परिचालन गरिएको छ ।
जिल्ला अस्पताल मनाङका प्रमुख डाक्टर योगेशराज पन्तले हिमपातले स्वास्थ्य सेवासमेत प्रभावित भएको बताए । मनाङमा यसवर्ष १० वर्ष यताकै भारी हिमपात भएको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मनाङको नार, फूलगायतका माथिल्ला भेगका गाउँ सम्पर्कविहीन छन् । चामेमा पनि छिनछिनमा फोन, इन्टरनेट, विद्युत् सेवा अबरुद्ध हुने गरेको छ ।
लोकप्रिय मावि चामेका प्रधानाध्यापक सुरेश थापाले जाडो विदा सकिए पनि हिमपातका कारण थप १० दिन विद्यालय बन्द गर्न लागेको बताए ।
हिमपातबाट कुनै अप्रिय घटना नभए पनि विपद् निम्तन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्