ग्रीनलाइफ हाइड्रोपावरको १८ लाख कित्ता आइपीओ माघ २२ देखि खुल्ने

जागरण न्युज
काठमाडौं, १५ माघ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले माघ २२ गतेदेखि १८ लाख कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका गैरिशंकर र विगु गाउँपालिकाका स्थानीयका लागि १ अर्ब ८० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो ।
समूह क, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बुका बासिन्दालाई ५ लाख ४० हजार कित्ता (३०%) तथा समूह ख, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिन्दाका लागि ७ लाख २० हजार (४०%) कित्ता सेयर छुट्याइएको छ ।
यस्तै समूह ग, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु, वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता (३०%) सेयर छुट्याइएको छ । यसमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रमा आवेदन नपरेमा भने फागनु २७ गतेसम्म भर्न सकिनेछ ।
आइपीओमा न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । आवेदन सेन्चुरी कमर्सियल बैंक सिंगटी र चरीकोट शाखा तथा प्राइम बैंकको जिरी अनि बैतेश्वर शाखाबाट पनि आवेदन दिन पाइनेछ ।
ग्रीनलाइफले हाल दोलखा जिल्लामा ४० मेगावाटको खानीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । ग्रीनलाइफको आइपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
यस्तै, ग्रीनलाइफको आयोजन स्थलबाटै पनि आवेदन दिन पाइने व्यवस्था गरिएको छ । यसमा बिक्री प्रबन्धकको काम काठमाडौं क्यापिटल मार्केटले गर्नेछ । कम्पनीले आयोजना प्रभावितलाई बिक्री गरिसकेपछि मात्र सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्