संसदमा विधेयकः सत्ता र प्रतिपक्षबिच मुठभेडको खतरा

काठमाडौं, ११ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद चर्किंरहेको छ । मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले चिकित्सा विधेयक पारित रोकिन्न भनि बताई सकेका छन। अधिकांश अस्पतालका चिकित्सकहरु आन्दोलनमा छन् । यस्तो अवस्थाबीच आज बस्ने प्रतिनिधिसभाले  यसलाई पारित गर्ने तयारी गरेको छ । शुक्रबारका लागि बोलाइएको बैठकबाट विधेयक पारित गर्ने कार्यसूची संसद् बैठकले तय गरेको हो ।
संघीय संसद्का महासचिव मनोहर भट्टराईले आजको बैठकको संसद बैठकको कार्यसूचीमा चिकित्सिा शिक्षा विधेयक पेस तथा पारित गर्ने रहेको जानकारी दिए र यसै विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध गर्दैै आएको छ । सरकारले यस विधेयक अघि बढाउने तयारी गरे पनि कांग्रेस यसलाई अघि बढ्न नदिने रणनीतिमा छ । विगतका सहमतिबाट पछि हट्दै सरकारले बेइमानीपूर्वक विधेयक तयार पारेकाले त्यसमा संशोधन हुनुपर्ने माग कांग्रेसको छ ।
सरकारले पेलेको भन्दै विपक्षी काँग्रेसले त्यसको प्रतिक्रियास्वरुप संसदमा अवरोध गर्दै आइरहेको छ । गत मंगलबार र बुधबार विधेयक पेस गर्न सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिए पनि कांग्रेसको अवरोधले रोकिएको थियो ।
विधेयक पारित गर्न छलफल भइरहेको बताईए पनि प्रतिपक्ष र सत्तापक्षबीच ठोस सहमति बन्न सकेको छैन । यसले गर्दा दुवै पक्षबिच मुठभेडको खतरा रहेको छ ।
सरकार कुनै पनि हालतमा विधेयक पारित गराउने पक्षमा खुलेर लागेको छ । तर, प्रतिपक्ष नेपाली कांग्रेस विधेयक पारित हुन नदिने रणनीतिमा छ । २ दिन संसद् अवरोध गरिसकेको कांग्रेस त्यसलाई अझै निरन्तरता दिने पक्षमा छ ।
यसले संसद्मा सम्भावित मुठभेडको खतरा देखाएको छ । मुठभेडको खतरा बढेपछि संसद् सचिवालय त्यसको पूर्वतयारीमा जुटेको छ । सचिवालयका अनुसार, अप्रिय घटना हुन नदिन मर्यादापालकको संख्या बढाइएको छ ।
यसले गर्दा सत्ता पक्ष र प्रतिपक्षबिच ध्रुविकरण बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्