आजदेखि सहिद सप्ताह सुरु, सहिदको मापदण्ड अझै बनेन

काठमाडौं,माघ १० । मुलुकमा प्रजातन्त्र स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आजदेखि सहिद सप्ताह मनाइँदै छ ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउन लागिएको हो ।
विसं २०१२ देखि नै प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा सप्ताह मनाउन थालिएको हो ।
जहानियाँ राणा शासनको विरुद्वको आन्दोलनमा होमिदा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।
नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्व प्रचार प्रसार गरेको आरोपमा वि।सं। १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो ।
देशका लागि जीवन बलिदान गर्ने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते यो दिवस मनाइन्छ ।
सहिद दिवसमा पहिले सार्वजनिक विदा दिने गरिए पनि हाल सरकारले यो विदा कटौती गरेको छ ।

सहिदको मापदण्ड अझै बनेन

मुलुक र जनताको हकअधिकारका आन्दोलनमा सहादत प्राप्त गरेका अमर सहिदलाई राज्यले एकातिर उचित कदर गर्न सकेको देखिँदैन भने अर्कोतिर कस्तो व्यक्ति सहिद हुने भन्नेमा अझै स्पष्ट मापदण्ड बन्न सकेको छैन ।
मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२÷०६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन ह्वात्तै बढेको छ । तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने स्पष्ट तथ्याङ्क छैन ।
नेपालका पहिलो सहिद लखन थापालाई मानिन्छ । त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार महान् सहिद – शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई सहिद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिइने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्