माओवादी केन्द्रले बोलायो केन्द्रीय कार्यालयको बैठक
काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले आज केन्द्रीय कार्यालयको बैठक बोलाएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेका लागि बोलाइएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन । बैठकमा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको उनले बताइन ।
यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ । सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथा अन्य तत्कालीन राजनीतिक विषयमा समेत बैठक छलफल केन्द्रित हुने माओवादी केन्द्रले जनाएको छ ।
कम्युनिष्ट गठबन्धनको पक्षमा जनताले आफ्नो विश्वाससहितको मत दिएको भन्दै माओवादी केन्द्रले भावी कार्यदिशा र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समान धारणा बनाउन बैठक बोलाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्