बीस वर्षपछि जोडिंदै सल्यानको मखनटाकुरी सडक

काठमाडौं, माघ ६ । तुलसीपुर उपमहानगरपालिकाले बिस वर्षसम्म विस्तार हुन नसकेको सडक विस्तार गर्न लागेको छ । बीस वर्ष अघि वडा नम्वर १ को धनुवाससम्म पुगेको सडक विस्तार गरेर उपमहानगरपालिकाले सल्यानको मखनटाकुरी सम्म पुर्याउन लागेको हो ।

विकट वडाहरुलाई सडक सञ्जालले जोड्ने योजना अनुसार उपमहानगरपालिका भएपछि गाँभिएका सडक सञ्जाल नपुगेका साविकका विभिन्न गाविसहरुमा सडक सञ्जाल विस्तार गरिरहेको पमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बताए । उनले सडक सञ्जाल नपुगेका विकट गाउँहरुलाई उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको समेत जानकारी दिए ।

वडा नम्वर १ को सल्यान मखन टाकुरी जोड्ने सडक सञ्जालको सुरुवात गर्दै नगरप्रमुख पाण्डेले सडकलाई समृद्धिसँग जोड्नका लागि जनताले उद्यममा ध्यान दिनुपर्ने वताए । उनले विकट वडाका जनतालाई लक्षित गरेर उपमहानगरपालिकाले ३ वटा एम्वुलेन्स खरिद गरेको वताउँदै केही दिनमै त्यो सञ्चालन हुने पनि वनाए । “जनताका सामु गरेका प्रतिवद्धतामा हामी सधै अडिग रहेका छौ” पाण्डेले भने ।

तुलसीपुर उपमहानगरपालिकाले धनुवास, रानी टाकुरा गैरा सिउरे र मखन टाकुरा हुँदै सल्यान जोड्ने सडक निर्माणको काम सुरु गरेको हो । ४० दिन भित्र सडकको ट्रयाक खोल्ने काम पुरा हुने उपभोक्ता समितिका अध्यक्ष ताराप्रसाद वलीले जानकारी दिए । उनले ५ किलोमिटर लम्वाइ र ८ मिटर चौडाईको सडक निर्माण हुने समेत वताए । “बाटो वनेपछि हाम्रा दुखका दिन हराउँछन् की ?” वलीले भने ।

गाउँहरु सडक सञ्जालले जोडिने भएपछि अहिले स्थानीय जनतामा खुसी छाएको छ । स्थानीय डम्वर अर्यालले २० वर्षदेखिको सपना पुरा हुन लागेकोमा खुसी व्यक्त गरे । “२० वर्षसम्म यही धनवासमा रोकिएको बाटो अव सल्यानसम्म पुग्ने भएपछि बल्ल मेरो सपना पुरा भएको छ । ” अर्यालले भने ।

सडक सिलन्यास कार्यक्रममा वोल्दै वडा नम्वर १ का वडाध्यक्ष लक्ष्मण भण्डारीले आफ्नो कार्यकालभित्र वडाका सबै गाउँमा सडक सञ्जाल पुर्याउने प्रतिवद्धता व्यक्त गरे । वडा नम्वर २ का वडाध्यक्ष राजु आचार्यले भौगोलिक विकटताले सोचे जति विकास हुन नसके पनि उपमहानगरपालिकाले पहल गरिरहेको वताए । कार्यक्रममा नन्दलाल वली, तुलसीराम न्यौपाने, चन्द्र वहादुर विक, दानवहादुर आले,देवी अर्याल लगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सहजिकरण स्वबेन्द्र केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्