काठमाडौं, ५ माघ । सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकबीच रेशियो अनुपातमा एकअर्कामा गाभिने सहमति भएको छ ।
यी दुबै नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत प्राप्त बैंक हुन् ।
आगामी साउन १ गतेबाट संयुक्त कारोबार गर्ने लक्ष्यसहित दुबै बैंकबीच मर्जर हुने सहमति भएको हो ।
विराटनगरस्थित कर्पाेरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंकको नेपाल राष्ट्र बैंकका क्षेत्रीय प्रमुख विनोद आचार्यको उपस्थितिमा सप्तकोशीका अध्यक्ष तारानाथ निरौला र काबेलीका अध्यक्ष गोपाल प्रसाद काफ्लेले मर्जर सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जर सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सप्तकोशी डेभलपमेन्ट बैंकका सञ्चालक बलराम बरालको संयोजकत्वमा ६ सदस्यिय संयुक्त मर्जर समिति गठन गरिएको छ । अन्य सदस्यमा सप्तकोशीका यज्ञप्रसाद शर्मा र डाक्टर अर्जुन बराल तथा काबेलीका जनार्दन घिमिरे, गणेशप्रसाद बराल र हेमराज सुवेदी रहनेछन् ।
नेपाल राष्ट्र बैंकले प्रादेशिक स्तरको बैंक हुन १ अर्ब २० करोड चुक्ता पूँजी चाहिने भनी बनाएको नियमअनुसार यस बैंकले हकप्रद र बोनस शेयर मार्फत पूँजी वृद्धि गर्ने निरौलाले जानकारी दिए ।
उक्त अवसरमा मर्जरपछि बन्ने सप्तकोशी डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ८१ करोड पुग्नेछ । प्रादेशिक स्तरको बैंकका लागि आवश्यक पर्ने थप ३९ करोड पूँजी हकप्रद र बोनस शेयरमार्फत कायम गर्ने बताइएको छ ।
२८ वटा शाखा कार्यालय सहित प्रदेश १ को सबैभन्दा ठूलो विकास बैंक हुने र केन्द्रीय कार्यालय धनकुटामा र कर्पोरेट कार्यालय विराटनगरमा राखिने छ । मर्जरपछि दुई वर्षभित्र प्रदेश नम्बर १ का १४ वटै जिल्ला र सबै स्थानीय तहमा शाखा खोल्ने बैंकको लक्ष्य छ ।
चालु आ.व.को दोस्रो त्रैमासिक विवरण अनुसार बैंकमा निक्षेप संकलन २ अर्ब ४२ करोड र कर्जा लगानीमा २ अर्ब २६ करोड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्