समानुपातिक मतगणना सकियो : कुन दलको कति मत ?

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा समानुपातिकतर्फको मतगणना सकिएको छ ।

मत चढाउने काम अझै बाँकी भएकाले अन्तिम मत संख्यामा केही फरक पर्नसक्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार समानुपातिकमा पनि सबैभन्दा बढी मत नेकपा एमालेले ल्याएको छ । एमालेले दोस्रो दल नेपाली कांग्रेसभन्दा ४५ हजार १०५ मत बढी पाएको छ ।

एमालेले ३१ लाख ७३ हजार ४९४ मत पाएको छ भने कांग्रेसको ३१ लाख २८ हजार ३८९ मत छ । माओवादी केन्द्रको १३ लाख ३ हजार ७२१ मत छ ।

समानुपातिकतर्फको गणनामा शुरूदेखि नै राष्ट्रिय जनता पार्टी नेपाललाई पछि पारेको संघीय समाजवादी फोरम नेपाल गणना अन्तिम चरणमा आइपुग्दा पछि परेको छ । अन्तिम परिणाममा राजपा ४ लाख ७२ हजार २५४ मत बटुल्न सफल भएको छ भने संघीय समाजवादी फोरमको पक्षमा ४ लाख ७० हजार २०१ मत परेको छ ।

विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९६ हजार ७८२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकमा तीन प्रतिशत मत ल्याउने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने प्रावधानअनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय फोरम पाँच पार्टीले मात्र उक्त थ्रेसहोल्ड कटाएका छन् । अब यी पाँच दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्