जागरण न्युज
काठमाडौं, ०३ माघ । एनआइसी एसिया बैंकले माघ १३ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १०% एनआइसी एसिया डिबेन्चर २०८५।८६ जारी गर्न लागेको हो । कुल ४० लाख कित्तामध्ये ८० हजार कित्ता म्युचुअल फन्डहरुलाइ, २४ लाख कित्ता अन्य संघ संस्था तथा कम्पनीहरुलाई बिक्री गरी बाँकी रहेको १६ लाख इकाईमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्नेछ ।
यसअघि बैंकले ८ लाख इकाई मात्र सर्वसाधारणलाई बिक्री गर्ने भनेको थियो । तर धितोपत्र बोर्डले प्राकृतिक व्यक्तिलाई जारी रकमको ४०% ऋणपत्र छुट्याउन अनिवार्य गरेपछि बढाएर १६ लाख पुर्याएको हो । यस ऋणपत्रमा न्यूनतम २५ देखि २० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ तथा एनआइसी एसिया बैंकको सम्पूर्ण तथा सी–आस्वाबाट पनि ऋणपत्रमा दिन सकिन्छ । ऋणपत्रमा माघ १६ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १३ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ । एनआइसीले यो ऋणपत्रमा वार्षिक १०% ब्याज दिनेछ । १० वर्ष अवधिको यो ऋणपत्र आर्थिक वर्ष २०८५।८६ मा परिपक्क हुनेछ ।
ऋणपत्र बिक्रीबाट उठेको रकममध्ये ३ अर्ब २० करोड रुपैयाँ कर्जा तथा सापट र ४० करोड लगानीका लागि उपयोग गर्ने बैंकले जनाएको छ । यस्तै, शाखा विस्तार तथा अन्य काममा २०–२० करोड रुपैयाँ उपयोग गर्नेछ । केयर रेटिङ नेपालले एनआइसीको ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘ए’ रेटिङ दिएको छ ।
प्रतिक्रिया दिनुहोस्