काठमाडौं, २ माघ । केही दिनदेखि मौसमी रुघाखोकीका बारेमा भ्रामक सन्देशहरु प्रशारण तथा प्रकाशन भइरहेको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले खण्डन गरेको छ ।
काठमाडौँ लगायत अन्य जिल्लाहरुमा स्वाइन फ्लुको कारणले अस्पतालमा बिरामीहरुको मृत्यु भएको तथा सयौं बिरामीहरु भर्ना भइ उपचार गराईरहेको भन्ने विभिन्न सञ्चार माध्यमहरुमा प्रसारण- प्रसारित समाचारहरु गलत भएको भन्दै हाल देखापरेको रोगलाई संचारमाध्यमहरुमा स्वाइन फ्लु भनिएको भएता पनि यो रोग मानिसबाट मानिसमा सर्ने सिजनल इनफ्लुएन्जा भएको भन्दै महाशाखाले खण्डन गरेको हो । साथै यसप्रति गरिम्भर ध्यानाकर्षण भएको पनि महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा हालसम्म बंगुरबाट मानिसमा सर्ने स्वाइन फ्लु (जुन विरलै मानिसमा सर्ने गर्दछ) देखिएको छैन । हाल देखापरेको यो रोगलाई संचारमाध्यमहरुमा स्वाइन फ्लु भनिएको भएता पनि यो रोग मानिसबाट मानिसमा सर्ने सिजनल इनफ्लुएन्जा हो । सिजनल इनफ्लुएन्जा कुनै नयाँ रोग नभई श्वास-प्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने तीब्र खाले संक्रामक रोग हो । जाडो मौसममा तथा मौसम परिवर्तन हुने वेलामा अघि पछिको भन्दा मौसमी रुखाखोकी सहितको ज्वरो (सिजनल इन्फ़्लुएन्जा) बाट प्रभावित बिरामीहरुको संख्या बढ्ने गरेको पाइएको छ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा खोक्दा वा हाच्छिउँ गर्दा सर्न सक्छ । यो रोग प्राय सामान्य रुघाखोकीको रुपमा देखा पर्दछ र यी लक्षणहरु केही दिनमा आफैँ हराएर जान्छ भने केही मानिसमा जटिलताहरु पनि देखा पर्न सक्छ । भन्ने कुरा महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बिशेष गरी गर्भवती महिला ५, वर्ष मूनिका बालबालिका ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक, रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिहरु र दीर्घ रोग (जस्तै) मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धि रोग, दम र अन्य श्वास-प्रश्वास सम्बधि दीर्घ रोग, आदिबाट प्रभावितहरुमा यसको जोखिम बढी हुन्छ र मृत्यु हुने सम्भावना पनि अन्य भन्दा बढी हुन्छ जारी विज्ञप्तिमा उल्लेख छ ।
इन्फ़्लुएन्जा रोगको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा निःशुल्क गरिन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा २०७५ मंसिर महिना देखी पौष २६ सम्म ३३४ जना बिरामीहरुको घाँटीको (रयालको नमुना परिक्षण गरिएकोमा १६८ जना बिरामीहरुमा इन्फ़्लुएन्जा प्रमाणित भएको छ । ती मध्ये १४६ जनामा इन्फ्लुएन्जा ए एच १ पीडीएम ०९०, ९ जनामा इन्फ्लुएन्जा एच ३ र १३ जनामा इन्फ्लुएन्जा बी प्रमाणित भएको छ। गत पौष महिनामा काठमाडौँमा इन्फ़्लुएन्जा रोग प्रमाणित १ जना व्यक्तिको थप जटिलता भई मृत्यु भएको जानकारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई प्राप्त भएको छ।
उक्त रोगबाट बच्ने उपाय बारे सूचना सन्देशहरु निरन्तर रुपमा प्रबाह भईरहेको छ र रोगको उपचार विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट जारी रहेको छ । प्रकोप व्यवस्थापनका लागि केन्द्र देखी स्थानीय तह सम्मका स्वास्थ्य संस्थाहरुलाई सजग र तयारी अवस्थामा राखिएको छ । इन्फ़्लुएन्जा रोग सम्बन्धि कुनै पनि थप जानकारी चाहिएमा वा अस्पतालहरुमा धेरैको संख्यामा बिरामीहरु उपचारका लागि आएमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई सम्पर्क गर्न हुन यसै विज्ञप्ति मार्फत सर्वसाधरणलाई समेत अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्