किसान माइक्रोफाइनान्सको ४ हजार २८० कित्ता सेयर लिलामी खुल्ने

जागरण न्युज
काठमाडौं, ०२ माघ । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको आइतबार (माघ ६ गते) देखि संस्थापक समूहको १८३ कित्ता र सर्वसाधरणको समूहको ४ हजार ९७ कित्ता सेयर गरी जम्मा ४ हजार २८० कित्ता सेयर लिलामी खुल्ने भएको हो । लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
लिलामीमा आवेदन दिने अन्तिम म्याद माघ १३ गतेसम्म रहेको छ । कम्पनीले यसअघि मंसिर २ गतेदेखि पुस ८ गतेसम्म २ः१ अनुपातमा २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमा ४ हजार २८० कित्तामा आवेदन पर्न सकेको थिएन । सोही हकप्रदमा नबिकेको सेयर लिलामीमा ल्याउन लागिएको हो ।
लगानीकर्ताले आवेदन बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुनधारा काठमाडौं तथा किसान माइक्रोफाइनान्सको सम्पूर्ण शाखाबाट दिन सक्ने जनाएको छ । यसैगरी, सिभिल बैंकको विराटनगर, पोखरा, बुटवल वीरगञ्ज, नेपालगञ्ज र नारायणगढ शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

हाल किसानको चुक्ता पुँजी ७ करोड ६४ लाख २ हजार रुपैयाँ छ । सेयर लिलामी बिक्रीपछि चुक्ता पुँजी १० करोड ४ लाख २७ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्