पाएनन् अझै भूकम्प पीडितले अनुदानको पहिलो किस्ता

काठमाडौं ।राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा ३ जना कार्यकारी प्रमुख र सिईओ परिवर्तन भईसक्दा समेत १ लाख भन्दा बढी भूकम्प पीडितले अनुदानको पहिलो किस्ता समेत पाउन सकेका छैनन् ।

स्थानीय तहमा समन्वयको अभाव र वास्तविक भूकम्प पीडित प्राधिकरणको पहुँचमा पुग्न नसक्दा १ लाख १ हजार ५ सय २० जनाले अहिलेसम्म पहिलो किस्ता समेत पाउन नसकेका हुन् । राजनीतिक नियुक्तिको थलो बनेको प्राधिकरणमा कंग्रेसबाट २ जना र एमालेबाट १ जना नेतृत्वमा पुगिसकेका छन् ।

बिनासकारी भूकम्प गएको २ वर्ष ८ महिना पुगिसकेको छ । पीडितहरु भने अझै पनि पहिलो किस्ताको अनुदानकै पर्खाईमा छन् । कंग्रेस सरकारले नियुक्त गरेका यसअघिका कार्यकारी प्रमुख गोविन्दराज पोखरेलले निर्वाचनमा लड्ने भन्दै प्राधिकरणको प्रमुख पदबाट राजिनामा दिएपछि सो पदमा कंग्रेसकै कोटाबाट पूर्वसचिव युवराज भुसाल आउनुभएको छ । तर भुसालको कार्यकालमा पनि पीडितले अनुदान पाउन सकेका छैनन् ।

घर निर्माणका लागि अनुदान पाउन योग्य ७ लाख ६७ हजार ७ सय ५ जनामध्ये जम्मा १९ हजारले मात्रै अनुदानको तेस्रो किस्ता पाएका छन् । कतिपय भूकम्प पीडितले अनुदानको रकम पाएर पनि घर बनाएका छैनन् । त्यसको समेत प्राधिकरणले अनुगमन गर्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्