घलेम्दी हाइड्रोको आइपीओ मंगलबार बाँडफाँट हुने, कतिले पाउँछन ?

जागरण न्युज
काठमाडौं, २९ पौष । घलेम्दी हाइड्रो लिमिटेडको आइपीओ मंगलबार (माघ १ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक भिबोर क्यापिटलका अनुसार मंगलबार बिहान ११ः०० बजे भिबोर क्यापिटलको कार्यालय, ट्रेड टावर थापाथली काठमाडौंमा बाँडफाँट हुने तय भएको छ ।
घलेम्दीले २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ पुस १९ गतेदेखि सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
उक्त आइपीओमा ४१ करोड २२ लाख ४६ हजार रुपैयाँको आवेदन परेको छ । जसमा ५५ हजार ८४३ जना आवेदकले ४१ लाख २२ हजार ४६० कित्ताको लागि आवेदन दिएको अन्तिम तथ्यांक बिक्री प्रबन्धकले दिएको छ । यो तथ्यांकलाई आधार मान्दा १४ हजार १५२ जना आवेदकको भागमा २० कित्ता र ४१ हजार ६९१ जनाको हातमा ३० कित्ता सेयर पर्ने देखिन्छ ।
यसको जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ । घलेम्दीले म्याग्दीको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल लागत १ अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको प्रतिमेगावाट लागत २३ करोड रुपैयाँ हुन आउँछ । कम्पनीले आर्थिक बर्ष २०७७÷७८ बाट लाभांश दिने सकिने जनाएको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष २०७६।७७ मा ८५ रुपैयाँ ९० पैसा र आव २०७७।७८ मा ९६ रुपैयाँ ५२ पैसा हुने प्रक्षेपण छ । यस्तै, प्रतिसेयर आम्दानी आव २०७७।७८ मा ६ रुपैयाँ ७४ पैसा पुग्ने प्रक्षेपण छ । ५५ करोड रुपैयाँ जारी पुँजी रहेको आयोजनामा संस्थापकको ३८ करोड ५० लाख (७०%) लगानी रहेको छ ।
२०७१ देखि सुरु भएको यस आयोजनाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रतिमेगावाट लागत २३ करोड रुपैयाँ पर्ने यो आयोजनाले ८ वर्षमा कर्जा चुक्ता गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्