जागरण न्युज
काठमाडौं, २६ पौष । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को १७ औं वार्षिक साधारण सभा विहीवार काठमाडौंमा सम्पन्न भयो । संचालक समितिका अध्यक्ष श्री राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस र ११.८४ प्रतिशत नगद गरी ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
वित्तीय संस्थाले आर्थिक वर्ष २०७४/७५ मा रु.३४ करोड ३० लाख ४९ हजार ७ सय २५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७४/७५ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । सभाले वित्तीय संस्थाको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा बाँकी अवधिको लागि विष्णु प्रसाद त्रिपाठीलाई संचालकमा निर्बिरोध निर्वाचित गरेको छ ।
चालु आ.व.को मंसिर मसान्तसम्म ५७ जिल्लाका १२८ शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख २८ हजार १ सय १९ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । यस अवधिसम्ममा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.११ अर्व २६ करोड ४२ लाख १६ हजार पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.६ अर्व ३४ करोड ९२ लाख ४० हजार रहेको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ५० करोड ३१ लाख ११ हजार रुपैयाँ छ । २५% बोनस वितरणपछि चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार ७५० रुपैयाँ पुग्नेछ । त्यस्तै, एफपीओ निष्कासन पछि चुक्ता पुँजी ७३ करोड ३७ लाख माथि हुनेछ ।
प्रतिक्रिया दिनुहोस्