टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीद्वारा पदभार ग्रहण, गुणस्तरीयता कसैंसँग सम्झौता हुँदैन

काठमाडौं, २३ पुस । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आज पदभार ग्रहण गर्नु भएको छ । । उहाँलाई नेपाल सरकारको २०७५ पुस १९ गतेको निर्णय वमोजिम ३ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा सरकारलाई धन्यावाद दिंदै उहाँले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरु अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न बताउनु भयो ।
नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगर्न कर्मचारीलाई आह्वान गर्नुभयो । उहाँले परिवर्तनशील प्रविधि र ग्राहकको माग तथा चाहनामा हुने परिवर्तनलाई समयानुकुल गर्दै लैजाने, ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने, फोरजी परियोजनालाई समयमा सम्पन्न गरिने, १ करोड लाइन क्षमताको टुजी र थ्रीजी परियोजनालाई यथाशीघ्र सम्पन्न गरिने, मोबाइल डाटाको प्रयोग बढाउनका लागि कार्यक्रम ल्याइने, एफटीटीएच सेवालाई मूख्य सहरहरु तथा पकेट क्षेत्रहरुमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने प्रतिवघता व्यक्त गर्नुभयो ।
त्यसैगरी कर्पोरेट र इन्टरप्राइज बिजनेसलाई विशेष जोड दिइने, मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क तयार गर्ने कार्यमा शीघ्रता ल्याइने र मोबाइल फाइनान्सियल सेवा तथा आईपी टीभी सेवालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने कुरा व्यक्त गर्नुभयो ।
पदबहाली कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशकहरु, निर्देशकहरु, प्रबन्धकहरु, अन्य बरिष्ठ अधिकृतहरु, आधिकारिक ट्रेडयुनियन लगायत कम्पनीमा आवद्ध अन्य कर्मचारी युनियनका पदाधिकारीहरु एवं कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रबन्ध निर्देशक अधिकारी यस अघि प्रबन्ध निर्देशकको कार्यालयमा प्रबन्धक हुन् । तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा २०५९ फागुन २२ गते टेलिकम इन्जिनियर पदमा प्रवेश गर्नुभएको थियो । उहाँ २०६५ मा बरिष्ठ इन्जिनियर, २०७० मा उप–प्रबन्धक र २०७५ बैशाख १६ देखि प्रबन्धक पदमा कार्यरत हुनुहुन्थ्यो ।
यस बीचमा उहाँ कम्पनीका विभिन्न निर्देशनालय र विभागहरुमा कार्यरत थिए । उहाँमा एक्सेस नेटवर्क, ट्रान्समिसन नेटवर्क, वायरलेस ब्रोडब्यान्ड एक्सेस, अन्तर्राष्ट्रिय व्यापार, ब्याकबोन ट्रान्समिसन आदि क्षेत्रको साथै कम्पनीको सह–प्रवक्ता र नोडल अधिकृत समेतको कार्य अनुभव रहेको छ ।

उहाँले २०६२ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा विशिष्ट श्रेणीमा एमएस्सी गर्नुभएको हो । त्यसैगरी २०५८ मा पुल्चोक क्याम्पसबाटै इलेक्ट्रोनिक्स इन्जिनियरिङमा विशिष्ट श्रेणीमा बीई गर्नुभएको थियो ।

उहाँका टेलिकम सेवा, पूर्वाधार, चुनौती र भविष्यका रणनीति आदि विषयमा विभिन्न लेख समेत प्रकाशित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्