स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं, १९ पुस । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बाँकेले  जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले पौष १६ गते कोहलपुर बजार क्षेत्र, पिपरी, हवल्दारपुर, कौशिलानगर, विकासनगर, वानियाँभार, दिपनगर लगायत संझनाचोक र चिसापानी क्षेत्रका ग्राहक सदस्य, अभिभावक साथै स्थानीयको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका उप–प्रमुख सञ्जु कुमारी चौधरीले हाल बहुबैकिङ्ग कारोवार, एकले कर्जा लिई अरुलाई चलाउन दिने तथा घर सल्लाह नगरी कर्जा लिने र व्यवसाय भन्दा पनि फजुल खर्चको लागि कर्जा लिने प्रवृत्तिको अन्त्य गर्न र वित्तीय अनुशासन कायम गर्न यस प्रकारका कार्यक्रमले सहयोग पुर्याउने बताउनुभयो ।
कोहलपुर नगरपालिका वडा न. १ का अध्यक्ष गोपी खनालले कौशिलानगर क्षेत्रका सहभागीलाई सम्वोधन गर्दै हाल कतिपय घरपरिवारले आर्थिक कारोवार विगारेर घरखेत बेचविखन गरि अझ गरिव भएको, धेरै वित्तीय संस्थाबाट कर्जा लिई फजुल खर्च गर्ने, आफनो जीवनस्तर उकास्न रकम परिचालन सहि तरिकाले नगर्ने कार्यले समाजमा विकृती फैलिएको पाइएको हँुदा यस्तो वित्तीय साक्षरता कार्यक्रमले जीवनस्तर उकास्न, वचत गर्ने बानी र आफ्नो क्षमता अनुसार कर्जा लिई आयमूलक कार्यमा लगाउन मद्दत गर्ने बताउनुभयो ।
शाखा प्रवन्धक चन्द्र वहादुर थापाले आर्थिक–सामाजिक र शैक्षिक रुपमा पछि परेका वर्गलाई गतिशील दिशामा अघि वढाउन र उनीहरुलाई वित्तीय पहुँच पुर्याइ जीवन स्तर उकास्न, आम्दानी गरि खर्चमा मितव्ययिता अपनाई वचत गर्ने बानी बसाल्न र आफ्नो पारिवारिक आम्दानी खर्चको लेखा जोखा गरि योजना बनाई अगाडी बढ्न र वित्तीय अनुशासन कायम गर्न आवश्यक रहेकोले वित्तीय साक्षरता आयोजना गरिएको वताउनु भयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने ग्राहक सदस्यहरुले वित्तीय संस्थाले समय-समयमा यस प्रकारका वित्तीय शिक्षा कार्यक्रम ल्याई वित्तीय ज्ञान बढाएको र आय आर्जन कार्यका लागि विभिन्न सल्लाह, सुझाव दिएकोले लाभान्वित भईएको कुरा व्यक्त गरे।
कार्यक्रममा इलाका कार्यालयका प्रतिनिधि, शाखा कार्यालयका प्रतिनिधि शाखा कार्यालय अन्तरगतका विभिन्न केन्द्रका केन्द्र प्रमुख, उपप्रमुख, सदस्यहरु, अभिभावक, स्थानीय बुद्धिजीवि लगायत जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्