सांसदहरुद्वारा सरकारको काम कारवाही प्रभावकारी नभएकोमा आलोचना, सांसदले गरे प्रश्न : भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने सरकारले देशलाई कसरी समृद्ध बनाउँछ ?

काठमाडौं, पुस १९ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सरकारको काम कारवाही प्रभावकारी बन्न नसकेको भन्दै आलोचना गरेका छन् ।
आजको बैठकमा बोल्दै सत्तापक्ष र विपक्षी सांसदहरुले सरकारको काम प्रभावकारी बन्न नसकेको भन्दै आलोचना गरेका हुन् ।
सत्तारुढ नेकपाका सांसद भीम रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भारतीय कम्पनी जिएमआरलाई फेरि पनि सरकारले म्याद थप्न लागेको भन्दै चर्को विरोध गरे ।
पटक पटक शर्तनामा उल्लंघन गरेको कम्पनीलाई म्याद थप्नु लम्पसारवाद भएको भन्दै उनले यसले मुलुकको अस्थित्व नै संकटमा पार्ने त होइन भन्दै सरकारसँग जवाफ माग गरे ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसकी सांसद डा।डिला संग्रौलाले सरकार आपराधिक गिरोहको संरक्षक बनेको आरोप लगाउदै वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्रीले संसदलाई जानकारी गराउन माग गरिन् ।
विपक्षी दलका अन्य सांसदहरुले भुकम्पपछिको पुनर्निर्माण लागि संचार महशुल वापत उठेको दुई अर्ब ५० करोड रुपैयाँ कहाँ छ भनेर प्रश्न गरेका छन् ।
सांसद डिला संग्रौलाले देशभर हत्या, हिंसा, भ्रष्टाचार, कालोबजारी र सीमा मिच्ने काम भइरहेको भन्दै देशको समस्याको निकास खोज्ने सवालमा सदनलाई प्रभावकारी बनाउन आग्रह गरिन । राष्ट्र खुम्चिँदा पनि समस्याको समाधान नखोजिएको भन्दै उनले सदनलाई निकासको थलो बनाउन आग्रह गरिन ।
सरकार जनताको घरदैलोमा भन्दा पनि बिजुलीको पोलमा मात्र भेटिएको उनीहरुको टिप्पणी थियो ।
बैठकमा सांसदहरुले उखु किसानले राम्रो मुल्य नपाएको, विकास निमार्णको काम हुन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्