ठूला दरका भारतीय नोट प्रतिबन्धले सीमा क्षेत्रको व्यापारमा असहज, उद्योगी–व्यवसायीका साथै श्रमजीवी प्रभावित

काठमाडौं, पुस १९ । नेपाल सरकारले १ सयभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगाएपछि धेरैतिर प्रत्यक्ष असर परिरहेको छ ।
नोट प्रतिबन्धले उद्योगी–व्यवसायीका साथै श्रमजीवी समेत प्रभावित भएका छन् । कतिपयले यसलाई हतारको निर्णयको परिणामसम्म भन्न थालिसकेका छन् ।
रुपन्देहीका सीमा क्षेत्रमा अहिले भारतीय रुपैयाँ सटही गर्नेहरुको घुइँचो देखिन्छ । भन्सार नाका भएकाले मालबाहक सवारीलाई दिनुपर्ने भारतीय पैसा यहाँका व्यवसायीसँग छैन ।
अर्कोतिर भारतमा काम गर्न गएका नेपालीहरु र नेपालमा काम गर्न आएका भारतीय र पर्यटकहरु समेत त्यसको मारमा परेका छन् । कतिपयले त सरकारको यो कदमलाई हतारको निर्णय भनेर टिप्पणी गरिरहेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद न्यौपानेले नोट प्रतिबन्धको निर्णयले धेरैलाई अप्ठ्यारो पारेकाले यसलाई सच्याउनुपर्ने धारणा राख्छन् ।
नेपाल–भारतबीच सहज आवतजावतका कारण नेपालमा भारतीय रुपैयाँ अत्याधिक प्रयोग हुने भएकाले नोट प्रतिबन्ध लगाउन नहुने कतिपयको तर्क देखिन्छ ।
भारतीय ठूला नोट प्रतिबन्ध लगाएपछि यहाँका होटलमा बास बस्न तथा अस्पतालमा उपचार गर्न आउने भारतीय नागरिकहरु फर्किन थालेका छन् ।
मनिचेञ्जर व्यवसायीहरु पनि सरकारले अन्य मुलुकको जस्तै यहाँ पनि विकल्प दिनुपर्ने बताउँछन् ।
सरकारले नोटमा रोक लगाएपछि रुपन्देही प्रहरीले पनि प्रतिबन्धित भारतीय रुपैयाँको कारोबार नगर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्