डोजर चालक नै इन्जिनियर बनेकोमा सांसदहरुको आपत्ति ,सडक सुरक्षा अडिट गर्न माग

काठमाडौं, पुस १६ । सांसदहरुले अध्ययन विना नै सडक विस्तार र सवारी सञ्चालनको अनुमति दिँदा सवारी दुर्घटना बढेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सिहंदरबारमा सोमबार बसेको विकास समितिको बैठकमा समिति सदस्यहरुले विकासको नाममा अध्ययन विना नै सडक विस्तार गर्नाले दूर्घटनाको समस्या निम्तिएको बताएका हुन् ।
ग्रामिण क्षेत्रमा जथाभावी सडक विस्तारको काम भईरहेको भन्दै उनीहरुले डोजर चालक नै इन्जिनियर बन्नु दुखद भएको गुनासो गरे ।
समिति सदस्य गणेश पहाडीले प्राविधिक मापदण्डविना सडक निर्माण हुनु नै दुर्घटनाको मुख्य कारक रहेको भन्दै प्रविधि र मापदण्डविना सडक निर्माण गर्ने कार्यलाई दण्डनीय बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरे । उनले सडक सुरक्षा अडिट गर्न माग समेत गरे ।
त्यसैगरी समिति सदस्य आशाकुमारी विकले जथाभावी डोजरले डाँडा काट्ने गरेकाले सडक असुरक्षा बढाएको भन्दै विदेश भ्रमणलाई रोकेर सडक अनुगमनमा केन्द्रीत हुन आग्रह गरिन् । राजेन्द्रकुमार राईले मन्त्रीले भने अनुसार अझै यातायात क्षेत्रको सिण्डिकेटको अन्त्य हुन नसकेकाले कुरा भन्दा कामको प्रभावकारितामा ध्यान दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण गराए ।
समिति सदस्य यज्ञराज सुनुवारले सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गईरहेको भन्दै जथाभावी सडक निर्माण र सञ्चालनको अनुमति दिने काम रोक्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण गराए ।
समिति सदस्य गौरीशंकर चौधरीले २० बर्षे गाडी विस्थापित योजनाका कारण राजधानीबाट हटाईएका सवारी साधन ग्रामिण क्षेत्रमा सञ्चालन भएका कारण दुर्घटनाको जोखिम बढाएको दाबी गरे ।
उनले अव्यवस्थित ढंगले सवारी रोकेर यात्रु चढाउने, फुटपाथमा पार्किङ गर्ने मिटरमा चल्न नमान्ने ट्याक्सी चालकलाई कारवाही गरि यातायात क्षेत्रलाई व्यवस्थित गराउनुपर्ने माग गरे ।
अर्का सदस्य टेकबहादुर बस्नेतले सडकको स्तरहिनताका कारण सवारी दुर्घटना बढेकाले समयमै सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिए । सवारी दुर्घटनाको बारेमा छलफल गर्न समितिले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र ट्राफिक प्रहरी महाशाखा प्रमुखलाई छलफलमा बोलाएको थियो ।
प्रतिक्रिया दिनुहोस्