निर्मला हत्या प्रकरण: आइजिपी खनालसहित प्रहरी उच्च अधिकारीको टोली कञ्चनपुरतिर प्रस्थान

काठमाडौँ, पुस ११ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित प्रहरी उच्च अधिकारीहरुको टोली कञ्चनपुर गएको छ ।
महानिरीक्षक खनालसहित केन्द्रीय अनुसन्धान व्युरो ( सिआइबी) का प्रमुख निरज शाही, प्रहरी मुख्यालयका एसपी रामदत्त जोशी, महानगरीय अपराध महाशाखाका डिएसपी रुगम कुँवर, प्रहरी नायव निरीक्षक गजेन्द्र रावलको टोली मंगलबार बेलुकी कञ्चनपुतर्फ प्रस्थान गरेको हो ।
निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका सिलसिलामा आइजिपी खनालसहितको टोली सडकमार्ग भएर कञ्चनपुर गएको प्रहरी श्रोतले जनाएको छ । तर कञ्चनपुर प्रहरीका प्रवक्ता कृष्णराज ओझाले उक्त टोली कञ्चनपुर आइनसकेको बताएका छन् ।
टोलीमा गएका अपराध महाशाखाका डिएसपी रुगम कुँवर र प्रहरी नायव निरीक्षक गजेन्द्र रावल टेक्नीकल पाटोको अनुसन्धानमा दखल राख्ने अनुसन्धान अधिकारीका रुपमा चिनिन्छन् ।
केही दिनअघि मात्रै निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि अपराध महाशाखाका डिएसपी मनोहर भट्ट नेतृत्वको टोली कञ्चनपुर गएको थियो। डिएसपी भट्ट नेतृत्वको उक्त टोलीले शंकास्पद १० जनाको नाम टिपाएको र त्यसमा चारजना सैनिक समेत रहेको श्रोत बताउँछ ।
१० जनामध्येकै व्यक्तिहरु अपराधमा संलग्न रहेको निष्कर्ष नजिक प्रहरी पुगेको पनि श्रोतले जनाएको छ ।
त्यसलगत्तै आइजिपी खनालसहितको टोली कञ्चनपुर गएका कारण प्रहरीले यो घटनामा केही महत्वपूर्ण क्लु हात पारेको अनुमान गरिएको छ ।
‘निर्मला हत्या प्रकरणको अनुसन्धान लगभग कम्प्लिटको चरणमा पुगेको छ त्यसकै लागि महानिरीक्षकसहितको टोली कञ्चनपुर गएको हो’, श्रोतले भन्यो, ‘भट्ट नेतृत्वको टोलीले शंकास्पद १० जनाको नाम दिएको छ ।’
प्रतिक्रिया दिनुहोस्