काठमाडौं, पुस १० । इसाई धर्मावलम्बीहरुले विश्वभर आज क्रिसमस पर्व मनाउँदै छन् । नेपालमा पनि ईसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् ।
देशभरका चर्चमा क्रिसमसका अवसरमा विविध कार्यक्रम गरिँदै छन् । क्रिसमसको अवसरमा देशभरका चर्चमा प्रार्थना, नाचगान जस्ता कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गर्ने गरिन्छ ।
क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
२ हजार १७ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो ।
येशुलाई जिसस क्राइष्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
पछिल्ला दिनमा नेपालमा पनि यस धर्म अँगाल्ने बढेका छन् ।
२०६२र६३ सालपछि मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष घोषणा गर्नुका साथै राज्यले क्रिसमस पर्वलाई येशु ख्रीष्टको जन्मदिवसका रुपमा मान्यता दिएको छ ।
अहिले नेपालमा १२ हजार चर्च र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी छन् ।
२०६४ सालअघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस अहिले सार्वजनिक स्थलमा पनि मनाइने गरेको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताएका छन् । क्रिसमसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बहुभाषिक तथा बहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको बताएका छन् ।
शुभकामनामार्फत प्रधानमन्त्री ओलीले पहिलादेखि नै बहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको सनातन धर्मको अतिरिक्त नेपालमा अन्य धर्म मान्ने मानिसहरुको स्वतन्त्रतासमेत सुनिश्चित गरिएको बताए।
प्रतिक्रिया दिनुहोस्