काठमाडौं, पुस ९। नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत आयोजना’सँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ।
पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रवद्र्धक रहेको १९ दशमलब ४१ मेगावाट क्षमताको आयोजनामार्फत उत्पादित विद्युत खरिदका लागि कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता गर्ने कार्य सम्पन्न भएको हो।
दुई पक्षबीच भएको सम्झौताअनुसार आयोजनाबाट सुख्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) उत्पादन हुने विद्युत ८ रुपैयाँ ४० पैसा र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) उत्पादन हुने विद्युत ४ रुपैयाँ ४० पैसामा खरिद गर्ने आयोजनाको प्रवद्र्धक पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र विद्युत व्यापार विभागका प्रमुख प्रवल अधिकारी तथा प्रवद्र्धक कम्पनीका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक भरतकुमार खड्का र आवसीय इञ्जिनियर देवेन्द्र बस्नेतले हस्ताक्षर गरे।
प्रवद्र्धक कम्पनीका आवासीय इञ्जिनियर बस्नेतका अनुसार दुई पक्षबीच गत मङ्गलबार पिपिए पत्रमा हस्ताक्षर भएको र बाँकी रहेको ‘अफिसियल’ प्रक्रिया आइतबार पूरा भएको हो।
सम्झौताअनुसार आयोजनाले विसं २०८० जेठ १७ सम्ममा निर्माण कार्य सम्पन्न गरी प्राधिकरणलाई विद्युत उपलब्ध गराउनुपर्ने उल्लेख छ। आयोजना क्यू सेभेन्टी मोडेलमा रहने छ। नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा बाँध बाधेर विदुर नगरपालिका–७ तुप्चे ९वेत्रावती०मा विद्युत उत्पादन गृह रहने आयोजना पूरा गर्न ५ अर्ब १२ करोड लाग्ने कम्पनीले जनाएको छ।
आयोजनाका तर्फबाट प्रवद्र्धक कम्पनीको ३० प्रतिशत लगानी रहने छ भने बाँकी लगानीको लागि वित्तीय व्यवस्थापनको प्रक्रियामा रहेको छ।
प्रतिक्रिया दिनुहोस्