चुनाव प्रचारका लागि प्रयोग भएका तुल, ब्यानर हटाउन आग्रह

काठमाडौं। चुनावका बेला टाँगेका तुल, ब्यानर, पोष्टर, पम्प्लेट, र भित्ते लेखन हटाउन ललितपुर र काठमाडौं महानगरपालिकाले आग्रह गरेका छन् ।

चुनाव प्रचारका लागि टाँगेका तुल ब्यानर पर्चा, पम्प्लेट र गरिएको भित्तेलेखनले शहरको शोभा घटाएकाले तत्काल त्यस्ता सामग्री हटाएर सफा शहरको अभियानलाई सहयोग पुर्‍याउन महानगरपालिकाले आग्रह गरेका हुन् ।

महानगरपालिकाले महानगर बासिन्दालाई आफ्नो घर पसल उद्योग व्यवसायबाट उत्पादित फोहोर सडकपेटी, मठमन्दिर, नदीनाला, जस्ता सार्वजनिक क्षेत्रमा नफाल्न पनि आग्रह गरेका छन् । आफ्ना घरबाट उत्पन्न भएको कुहिने फोहोरलाई मल बनाएर करेसाबारीमा प्रयोग गर्न र नकुहिने फोहोरलाई मात्र फोहोर लिन आउने गाडी वा ब्यक्तिलाई पठाउन महानगरपालिकाले अनुरोध गरेका हुन् ।

जथाभावी फोहोर नफाल्न महानगरले सचेत गराउँदै आएको र अटेर गरेमा कानुनी बमोजिम कारवाही हुने काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० मा जथाभावी फोहोर फाल्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना, ३ महिना जेल सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्