गभर्नरको निर्देशनपछि बैंकहरुले गरे व्याजदर घटाउने निर्णय
काठमाडौ, पौष ५ । गभर्नरको निर्देशनपछि बैंकहरुले व्याजदर घटाउने निर्णय गरेका छन् ।
गभर्नर तथा डेपुटी गभर्नरहरुले भद्र सहमति गरेर ब्याज दर झार्न निर्देशन दिए लगत्तै बैंकर्स संघको बैठकले ब्याज दरमा फेरि भद्र सहमति गरेको छ ।
राष्ट्र बैकका गभर्नर डा. चिरञ्जिबी नेपाल, डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले लामो क्लास लिएपछि बैंकर्स संघले भद्र सहमति गर्ने निर्णय गरेको हो । उक्त सहमति अनुसार साधारण बचतको ब्याजदर अधिकतम ६.५ प्रतिशत त्यस्तै मुद्दति निक्षेपमा अधिकतम ९.२५ प्रतिशतसम्म व्याज त्यसमा संस्थागत मुद्धती निक्षेपमा भने ८.५ प्रतिशतसम्म दिन सकिने सहमति बैंकहरुले गरेका छन् ।
यसमा एक पटकलाई राष्ट्र बैंकले कर्जा निक्षेपको अनुपात ८० प्रतिशत माथि गएका बैंकहरुलाई कार्वाही नगर्ने भए पछि व्याजदर घटाउन बैंकहरु तयार भएका हुन् । भोलीदेखि नै लागू हुने गरी ब्याज दर घट्ने छ । अब बचतमा बढिमा साढे ६ प्रतिशत मात्र ब्याज दिन पाइने छ । न्यूनतम ब्याज अन्तर २ प्रतिशत बिन्दु राख्नु पर्ने भएको छ । यसो हुँदा कल डिपोजिटको ब्याज साढे ४ प्रतिशतमा झरेको छ ।
यसअघि भद्र सहमति हुँदा बचतको उच्च ब्याज दर सात प्रतिशत तोकिएको थियो । ब्यक्तिगत मुद्दति साढे १० र संस्थागत १० प्रतिशत तोकिएको थियो । त्यो सहमति खारेजपछि बैंकहरुले ब्याज बढाबढको प्रतिस्पर्धामा लागेका थिए । राष्ट्र बैंकको निर्देशनमा बिहीबार भएको सहमतिले भने पहिलेको सहमतिभन्दा कममा ब्याज दर झार्ने निर्णय भएको छ ।















प्रतिक्रिया दिनुहोस्