भ्रष्टाचार गर्दिन भनेर ठूलो स्वर गर्नेहरुले नै भ्रष्टाचार गर्ने गरेको पाइएकोमा आफू अचम्मित: प्रधानमन्त्री

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार ‘हुन नदिने’ आफ्नो संकल्प पुनः दोहोर्याएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि आफूले गर्ने प्रयास भइरहेको पनि पनि स्पष्ट पारेका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘म भ्रष्टाचार गर्दिन’ भन्ने आफ्नो प्रतिबद्धता भने शतप्रतिशत कार्यान्वयनमा आएको दावी गरे ।
भ्रष्टाचार ‘गर्न दिन्न’ भन्ने आफ्नो भनाई पूर्ण रुपमा कार्यान्वयनमा नआएकाले मुलुकमा अझै पनि भ्रष्टाचार भइरहेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने कुरामा ढुक्क हुन पनि पटक–पटक आग्रह गरे ।
‘भ्रष्टाचार हुन नदिन शून्य सहनशीलताको नीतिलाई निर्मम ढंगले कार्यान्वयन गराउन सरकार दृढ छ’ ओलीले दोहोर्याए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चाल्न सम्बन्धित निकायलाई पनि सचेत समेत गराएका छन् ।
भ्रष्टाचार नियन्त्रण गर्न सजिलो नभएको प्रधानमन्त्री ओलीको भनाई छ । बुद्धि भएकाहरुले त्यसको दुरुपयोग गरेर भ्रष्टाचार गर्ने गरेकाले त्यसलाई नियन्त्रण गर्न कठिनाई भईरहेको भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिन भनेर ठूलो स्वर गर्नेहरुले नै भ्रष्टाचार गर्ने गरेको पाइएकोमा आफू अचम्मित भएको पनि बताए ।
प्रधानमन्त्री ओलीले नैतिक बन्धन, कर्तव्यको बन्धन भित्र पारेर भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले भ्रष्टाचार नियन्त्रण गर्न व्यक्ति, परिवार, समाज, राष्ट्र र सिंगो अन्तर्राष्ट्रिय समुदायनै एक ढिक्का हुनुपर्ने आवश्यक्ता औंल्याए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस हरेक वर्ष मनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्