सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौंमा भेला हुदै, प्रधानमन्त्रीले बोलाए बैठक

काठमाडौं, मंसिर २२ । अन्तरप्रदेश परिषद्को बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आउँदै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि बोलाएको बैठकमा सहभागी हुन मुख्यमन्त्रीहरु काठमाडौंमा आउन लागेका हुन् ।
पहिलो बैठक भएकाले प्रधानमन्त्रीसहित केन्द्र सरकारका मन्त्री, सचिव र ७ वटै प्रदेशका मुख्यमन्त्री सहभागी हुने छन् ।
संघीय र प्रदेश सरकारबीच देखिएको अन्तरद्वन्द्व समाधान गर्ने उद्देश्यसहित प्रधानमन्त्री ओलीले अन्तरप्रदेश परिषद्को बैठक बोलाएका हुन् ।
यसअघि गत भदौ २४ गते अन्तरप्रदेश परिषद्को बैठक बस्ने तय भएको थियो ।तर भदौ २१ गते मुख्यमन्त्रीहरु पोखरामा भेला भएर संघीय सरकारलाई दबाब दिने निर्णय गरेपछि असन्तुष्ट बनेका प्रधानमन्त्री ओलीले बैठक नै स्थगित गरेका थिए ।
तर भोलिका लागि आह्वान गरिएको बैठकमा पनि मुख्यमन्त्रीहरुले पोखरा भेलामा तय गरेका एजेन्डालाई नै प्रस्तुत गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्रीहरुले केन्द्र सरकारले अधिकार दिन नखोजेको, कर्मचारी व्यवस्थापनमा आलटाल गरेको, भौतिक पूर्वाधारसँगै कानुन निर्माणमा असहयोग गर्दै आएको गुनासो गर्ने तयारी गरेका छन् ।
त्यसैगरी परिषद्को ऐन तथा कार्य्विधि बनाउने, प्रदेशको शान्ति सुरक्षा, प्रदेश लोकसेवा आयोग गठन, प्रदेश प्रहरी ऐन, प्रदेश निजामती सेवा ऐन, जिल्लास्तरका महत्वपूर्ण कार्यालयको व्यवस्थापन, रोयल्टी र राजश्व बाँडफाँडका विषयमा पनि छलफल हुने बताइएको छ ।
त्यसैगरी प्रदेशका समस्या संकलन गर्न सरकारले खटाएका सचिव नेतृत्वको टोलीले प्रधानमन्त्री कार्यालयमा बुझाएको प्रतिवेदनलाई पनि आधार मानेर छलफल गरिने बताइएको छ ।
अन्तर प्रदेश परिषद् बैठक केन्द्र र प्रदेश सरकारबीच देखिएका विवाद हल गर्ने संयन्त्र भएकाले यसले संघीय र प्रदेश सरकारबीच देखिएको अन्तरद्वन्द्व समाधान हुने अपेक्षा गरिएको छ ।
यसअघि सचिवस्तरीय टोलीबाट पहिचान भएका र मुख्यमन्त्रीले राख्ने समस्याबारे केन्द्रित भएर छलफल गरी निचोड निकाल्ने गरी तयारी भैरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्