प्रदेश नं ७ की एक्ली महिला बीना बनिन् सांसद

काठमाडौं । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी विजयी उम्मेदवार बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छन् ।

कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिस्पर्धामा रहेकी आरजु राणा देउवा र कैलालीकै निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह पराजित हुँदा बीनामात्रै चुनावमा भारी मतको अन्तरका साथ विजयी भइन् ।

दशवर्षे जनयुद्धका क्रममा २७ महिने नारकीय हिरासत जीवन बिताएकी मगरले निर्वाचनकै प्रचारप्रसारका क्रममा उनका श्रीमान् प्रकाश दाहालको असामयिक निधन हुँदा राम्ररी प्रचारप्रसारको कार्य गर्न नपाउँदासमेत जनताको साथ र समर्थन पाएर विजयी भइन् ।

संविधानसभाको निर्वाचनमा झिनो मतको अन्तरले पराजित हुँदाको बदला मगरले यस निर्वाचनमा विजयी भएर लिएकी छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार भई ३८ हजार ४६८ मत ल्याई मगर विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत ल्याएका छन् । विष्टलाई मगरले १९ हजार २४९ मतको फराकिलो अन्तरले पराजित गरिन् ।

विजयी उम्मेदवार मगरले जन्मभूमिको सेवामा सधैँ समर्पित हुने बताइन् । विजयी भएपछि प्रतिक्रया दिँदै उनले निरन्तर जनसम्पर्क स्थापित गर्न तथा गुनासो र समस्याको समाधानका लागि स्थानीय तहमा सहायता कक्ष हेल्प डेस्क स्थापना गर्ने घोषणा गरिन् ।
उनले संसद् र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने बताइन् ।

मानसिकरुपमा जटिल परिस्थिति र स्वास्थ्य अवस्था अनुकूल नभएका बेला मतदाताबाट पाएको साथ जीवनभर नबिर्सिने उनले उल्लेख गरिन् ।

विसं २०४० मंसिर २२ गते पुनर्वास नगरपालिकामा जन्मिएकी मगर यस क्षेत्रको समाज, संस्कृति, परम्परा, जातजाति, वेषभूषा र चाडपर्वसँग रमाउँदै हुर्किएकी हुन् ।

पुनर्वासको अरनिको बस्तीको अरनिको प्राविबाट शिक्षा आर्जन शुरु गरेकी उनले गौरीशंकर निम्न मावि र जनता मावि पुनर्वासबाट माध्यमिक तहसम्मको शिक्षा आर्जन गरेकी छन् ।

मगरले विसं २०५१ सालमा ११ वर्षको कलिलै उमेरदेखि तत्कालीन नेकपा माओवादीको सशस्त्र आन्दोलनमा सक्रिय सहभागिता जनाएकी थिइन् ।

राजनीतिक यात्रासँगै उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौँ प्रस्थान गरिन् । काठमाडौँमा उनलाई राजधानीकोे वातावरण, रहनसहन, समाज र राजनीतिक शासन व्यवस्थाबारे नजिकबाट अध्ययन गर्ने अवसर मिल्यो ।
गाउँगाउँमा विकास र्पुयाउन र एकात्मक शासन सत्ताको अन्त्यका लागि संघर्ष नै मुख्य बाटो देखेर मगरले सशस्त्र संघर्षको यात्रालाई उनले अगाडि बढाइन् । काठमाडौँमा पनि तत्कालीन अखिल क्रान्तिकारीको विद्यार्थी संगठनमा आबद्ध भएर भित्रिरूपमा नेकपा माओवादी पार्टीको पूर्णकालीन सदस्यको रूपमा उनले कार्य गरिन् ।

विद्यार्थीका थुप्रै हकअधिकार र जनजीविकाका लागि संघर्ष गरिरहँदा उनलाई विसं २०६० मा अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला अध्यक्षसम्मको जिम्मेवारी प्राप्त भयो ।

राज्यको व्यापक धरपकड र दमनबीच मगर विसं २०६० मा तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा परिन् । मानव बधशाला भनेर चिनिएको भैरवनाथ गणमा उनले २७ महिना बेपत्ताको अवस्थामा रहनुर्पयो ।

मुलुकमा २०६२र६३ को जनआन्दोलन उत्कर्षमा थियो । त्यति नै बेला परिवारको तर्फबाट रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दर्ता गरिएपछि त्यसपछि अदालतले गैरन्यायिक हिरासतबाट रिहा गर्न आदेश दिएको उनले बताइन् ।

सम्मानित सर्वोच्च अदालतको रिहाइको आदेशलाई बेवास्ता गरी पुनः गिरफ्तार गर्ने प्रशासनको चाललाई राष्ट्रिय अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थाको संघर्ष र सहयोगले निस्तेज पारेर रिहा हुन सफल भएको उनले बताइन् ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवार भएकी उनी झिनो मतान्तरले पराजित भएकी थिइन् ।

प्रतिनिधिसभाको उम्मेदवार भई प्रचारप्रसारमा संलग्न रहेकै बेला श्रीमान् प्रकाश दाहालको असामयिक निधन भएपछि पनि उनले हिम्मत हारिनन् । शोकलाई शक्तिमा बदल्दै जनताका समस्या समाधानका लागि निरन्तर लाग्दा उनले अहिले विजय प्राप्त गरेकी छन् ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनी प्रदेश नं ७ की एक्ली विजयी महिला उम्मेदवार बन्न पुगिन् ।रासस

 

प्रतिक्रिया दिनुहोस्