कैलाली–२ बाट एमालेका झपट रावल विजयी

कैलाली–२ बाट एमालेका झपट रावल विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार रावलले कांग्रेस उम्मेदवारलाई पराजित गर्दै जित निकालेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, रावल २५ हजार १ सय २७ मत ल्याएर निर्वाचित भएका हुन् । रावलका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोहनसिंह राठौर २३ हजार ३ सय १३ मत पराजित भए ।

राठौर संसद्को सुशासन तथा अनुगमन समितिको सभापतिमा एमालेबाट निर्विरोध निर्वाचित भएका थिए । शेरधन राई सञ्चार मन्त्री बनेपछि उनलाई रिक्त स्थानमा लगिएको थियो । तर, चुनावको संघारमा उनी एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए ।

राठौर प्रतापपुर–६, कैलालीका स्थायीवासिन्दा हुन् ।

योसंगै कैलालीका ५ वटै निर्वाचन क्षेत्रका मतगणना सम्पन्न भएको छ । ५ निर्वाचन क्षेत्रमध्ये एमाले र माओवादीले २र२ र राजपाले १ निर्वाचन क्षेत्र जितेका छन् । क्षेत्र नंम्बर १ मा राजपाका रेशमलाल चौधरी, २ मा झपट रावल, ३ मा माओवादी केन्द्रका गौरीशंकर चौधरी, ४ मा माओवादी केन्द्रका लेखराज भट्ट र ५ मा एमालेका नारदमुनि राना निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्