राष्ट्रियसभा विधायन व्यवस्थापन समिति : अध्ययन अनुसन्धानको कार्यविधि तय

काठमाडौं , मंसिर २० ।  संघीय संसद राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले समितिमा पेश भएका विधेयकको मात्रै अध्ययन अनुसन्धान गर्ने कार्यविधि तय गरेको छ ।
समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले ‘ऐन कार्यान्वयन मापन तथा अध्ययन अनुसन्धान कार्यविधि, २०७५’ माथि छलफल गर्दै समितिमा पेश भएका विधेयकमात्रै अध्ययन अनुसन्धान गर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा समितिका सदस्यहरुबीच सरकारले संघीय संसदमा पेश गरेको विधेयक पनि अध्ययन गर्नेकि समितिमा मात्रै पेश गरिएको विधेयक मात्रै अध्ययन गर्ने भन्नेमा मत बाझिएको थियो । सोही सम्बन्धमा आवश्यक छलफल गरी सरकारले समितिमा पेश गरेको विधेयकमात्रै अध्ययन गर्ने निष्कर्ष निकालिएको समितिका सभापति परशुराम मेघी गुरुङले जानकारी दिए ।
समितिले विधेयक अनुसन्धानका लागि संघीय संसद सचिवालयका पदाधिकारी र समितिका कर्मचारीलाई पनि परिचालन गर्ने सक्ने कार्यविधि पनि बनाएको छ । विज्ञहरुलाई पनि विधेयक अनुसन्धानको छलफलमा सहभागी गराउने व्यवस्था पनि कार्यविधिमा गरिएको समितिका सभापति गुरुङले बताए ।
बैठकका समितिका सदस्यहरुले संविधान प्रतिकूल रहेका कानुन संशोधनका लागि सरकारलाई सचेत गराउनुपर्नेमा पनि जोड दिएका थिए । समितिका सदस्य वृशेषचन्द्र लालले कानुन निर्माणको काममा सरकारलाई सचेत गराउने कार्यविधि पनि समितिले तय गर्नुपर्ने आवश्यक्ता औंलाए ।
ऐन, कार्यान्वयन मापन तथा सोसम्बन्धि राष्ट्रिय अभिलेख राख्न पाउने क्षेत्राधिकार तोकिएको सो समितिले त्यसलाई व्यवस्थित ढंगले अघि बढाउन कार्यविधि तय गरेको हो । कार्यविधिमा ऐनहरुबीच देखिएको
दोहोरोपनालाई हटाउन आवश्यक कार्य गर्ने पनि उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्