मन्त्रीदेखि प्रदेश प्रमुखसम्मलाई भैंसेपाटीमा ४१ वटा भवन बनाउने सरकारको निर्णय, पुल्चोकमा पनि राजकीय अतिथि भवन

काठमाडौं , मंसिर २० । सरकारले ललितपुरको भैंसेपाटीमा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र मन्त्रीहरुका लागि २७ वटा आवास भवन निर्माण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
बैठकले ललितपुर महानगरपालिकाको सैवु भैसैपाटीस्थित सैवु आवास क्षेत्रमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी चार आना ३.२८ दाम जग्गामा ती भवनहरु निर्माण गर्ने तयारी गरेको हो ।
सो जग्गामा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास सम्पर्क कार्यालयका लागि थप १४ वटा भवन समेत निर्माण गर्ने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।
आज एक विज्ञप्तिमार्फत सरकारका निर्णयहरु सार्वजनिक गर्दै मन्त्री बास्कोटाले पूल्चोकस्थित हाल मन्त्री निवास रहेको परिसरमा समेत १० वटा राजकीय अतिथि गृह निर्माण गर्ने निर्णय भएको बताएका छन् ।
मन्त्रिपरिषद बैठकले केही दिनअघि युनिभर्सल पिस फेडरेसनले पुरस्कारस्वरुप दिएको १ लाख अमेरिकी डलर र सोही बराबरको रकम थपेर प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोषको स्थापना गर्ने निर्णय समेत गरेको छ ।
बैठकले महाकवि लक्ष्मी प्रसाद देवकोटाको आवासलाई संग्राहलय बनाउने निर्णय गरेको छ भने नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा नियुक्त सिफारिस गर्न तस्न सदस्यीय छनौट समिति समेत गठन गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा विराटनगरका रमेशकुमार पोख्रेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्