आयल निगमका कार्यकारी निर्देशक खड्कालाई कारबाही गर्न निगमकै सञ्चालक समितिको सिफारिस्

काठमाडौं । डेढ अर्ब रुपैयाँ बराबरको घोटालाका आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आयल निगम सञ्चालक समितिले सैद्धान्तिक सहमति गरेको छ। निगमले इन्धन भण्डारण गर्न चितवन, रुपन्देही, झापा र सर्लाहीमा जग्गा खरिद गर्दा बिचौलियासँगको मिलेमतोमा घोटला गरेको खड्कालाई निगममा राखिरहँदा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै कारबाहीको लागि आपूर्तिमन्त्री मण्डललाई सिफारिस गर्ने सहमति गरेको हो।

एक साताअघि मात्र सरुवा भएर आएका आपूर्ति सचिवसमेत रहेका निगम सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटा यस्तो निष्कर्षमा पुगेका हुन्। स्रोतका अनुसार खड्कालाई कारबाही गर्न सिफारिस गरेर देवकोटा बुधबार एक कार्यक्रममा सहभागी हुन चीन प्रस्थान गरेका छन्।

सोमबार संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले जग्गा खरिदमा प्रचलित ऐन कानुन मिचेर निगमलाई चर्को व्ययभार पर्नेगरी चार गुणा महँगो जग्गा खरिद गरेर अनियमितता गरेको ठहरसहित प्रतिवेदन पास गरेको थियो।

सञ्चालक समितिको निर्णय र संसदीय समितिले खड्कालाई कारबाही गर्नुपर्ने निष्कर्षमा पुगेपछि अबको जिम्मेवारी आपूर्तिमन्त्री मण्डलको काँधमा आएको छ। मन्त्री मण्डलले संसदीय समितिको प्रतिवेदनको आधारमा थप निर्णय लिने बताउँदै आएका थिए।

सार्वजनिक लेखा समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै करिब एक महिना अगाडि कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आपूर्ति मन्त्रालयलाई सिफारिस गरिसकेको छ।

मन्त्री मण्डलले कारबाहीको लागि अग्रसरता नदेखाएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ। स्रोतका मन्त्री मण्डल पनि कारवाहीको मुडमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्