सर्लाही क्षेत्र नम्बर ४ को मतगणना स्थगित, सुुरक्षा सतर्कता बढाइयो

काठमाडौं । । सर्लाहीको प्रतिनिधि सभा सदस्य क्षेत्र नं. ४ मा रोकिएको मतगणना अझै शुरु हुन सकेको छैन ।

दलका प्रतिनिधिबीचको विवादले आइतवार राति साँढे १० बजेदेखि मतगणना रोकिएको थियो ।

बलरा नगरपालिकामा रहेको जनता आधारभूत विद्यालय बेल्वाजब्दी मतदान केन्द्रको एउटा मतपेटिकामा ६ वटा मध्ये ४ वटा मात्रै शिल रहेको भेटिएपछि दलका प्रतिनिधिले विवाद गर्दा मतगणना स्थगित भएको हो ।

यसबारेमा निर्वाचन आयोगमा पत्र लेखेर पठाउँदा आयोगले गणना शुरु गर्न निर्देशन दिइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तर जिल्लामा दलका प्रतिनिधिबीच कुरा मिल्न सकेको छैन । यसबारे आज दलका प्रतिनिधिहरुबीच फेरि छलफलको तयारी भैरहेको छ ।

मतगणना स्थगित हुँदा परिणाम सुन्न मतगणना स्थल सर्लाही क्याम्पस परिसर बाहिर बसेका राजपा र काँगे्रसका कार्यकर्ताबीच हिजो झडप समेत भएको थियो । अहिले मतगणना स्थलमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मतगणना रोकिंदासम्म सो क्षेत्रमा राजपाका उम्मेदवार राकेशकुमार मिश्र काँगे्रसका अमरेशकुमार सिंहभन्दा अगाडि छन् । मिश्रले १६ हजार ३ सय १८ र सिंहले १५ हजार ९ सय ३५ मत प्राप्त गरेका छन् ।

अघिल्ला निर्वाचनमा विभिन्न झमेला र झडप हुने सर्लाहीको अति संवेदनशीलन क्षेत्र नं. ४ मा मंसिर २१ को निर्वाचन भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्