आजबिश्व एड्स दिवस मनाँंदै : नयाँ एचआइभी संक्रमण दर ८० प्रतिशतले घटयो

काठमाडौं , मंसिर १५ । ‘एचआईभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने नाराका साथ आज ३१ औँ विश्व एड्स दिवस मनाँंदैछ ।

यो दिवसलाई एचआईभी संक्रमित तथा प्रभावितलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्ने दिनको रुपमा मनाउने गरिन्छ । विश्वले नै सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । नेपालमा सन् २०१० को तुलनामा २०१७ सम्ममा एचआईभी संक्रमितको संख्या ६१ प्रतिशतले घटेको तथा ६३ प्रतिशतले बच्चामा हुने नयाँ संक्रमणमा कमी आएको राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

यसैगरी एड्सको कारण ज्यान गुमाउनेको संख्या २३ प्रतिशतले घटेको छ । अहिले १६ हजार ४ सय २८ जना एचआईभी संक्रमितले मात्रै उपचार गराइरहेका केन्द्रका निर्देशक डाक्टर तारा नाथ पोख्रेलले जानकारी दिनुभयो । सङ्क्रमण सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, कामका लागि विदेशिने र जेलका कैदी सङ्क्रमणको उच्च जोखिममा छन् ।

जनचेतनाको कमी र सुरक्षा अपनाउने साधनको सावधानीपूर्वक प्रयोग नगर्दा यस्तो जोखिम बढेको केन्द्रले जनाएको छ । नेपालमा एड्स रोगको निशुल्क औषधि पाइन्छ । तर धेरैले निशुल्क औषधिबारे थाहा नपाउँदा उपचारको पहुँचमा पुग्न सकेका छैनन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी÷एड्स सङ्क्रमितको उपचार कमी हुन नदिने बताएका छन्। दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले एचआइभी सङ्क्रमितलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको स्मरण गराए ।

दीगो विकासका लक्ष्यले स्वास्थ्य मानव समाजको परिकल्पना गरेको भन्दै उहाँले सन् २०३० सम्ममा एड्स रोग निर्मूल गर्ने रणनीतिलाई द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। अभियानमा नेपालमा पनि राष्ट्रिय एड्स परिषद्ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।

नयाँ संक्रमण दर घट्दै

नेपालमा एड्सका कारणले मृत्यु हुनेको संख्या ३० प्रतिशतले घटेको छ। सन् २०१० को तुलनामा २०१७ मा एचआइभी संक्रमण दर ८० प्रतिशतले घटेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ। सन् २०१७ सम्म नेपालमा ३० हजारभन्दा बढी मानिस एचआईभी संक्रमणबाट पीडित छन।

नयासंक्रमण दर पनि ८ सयमा झरेको छ। नेपालमा सबैभन्दा बढी प्रदेश ५ मा एचआइभि संक्रमित पाइएको तथ्यांक छ। अहिले बार्षिक मृत्युदर पनि घटेर १२ सयको हाराहारीमा मृत्यु हुने गरेको छ। एचआईभी एड्सबाट पीडित हुने तथा यस रोगबाट मृत्यु हुने अवस्था कमी आए पनि यस रोगलाई नियन्त्रणमा लिन भने सकिएको छैन।

सन् २००५ देखि १६ सम्ममा विश्वव्यापी रुपमा एड्सका कारणले मृत्यु हुने संख्यामा ४८ प्रतिशतले कमी आएको छ। यस्तै, संक्रमितको संख्या पनि ११ प्रतिशतले घटेको पाइएको छ। नेपालमा सन् १९८८ मा पहिलो पल्ट एकजना मानिसमा एचआइभी एड्स फेला परेकोमा अहिले यसबाट करिब ७२ हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेको कुरा विभिन्न तथ्यांकहरुले देखाएका छन्।

हाल नेपालमा एचआइभी संक्रमितको संख्या भने घट्दै गएको तथ्यांक छ तर संक्रमितहरु खुलस्त नहुँदा वास्तविक तथ्यांकअझै स्पष्ट हुन सकेको छैन। नेपाल सरकारले घोषणा गरेको एचआइभी एड्स सम्बन्धि राष्ट्रिय रणनीतिमा सन् २०१६ सम्म नयाँ संक्रमण दरलाई घटाएर ५० प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ भने मृत्युदर २५ प्रतिशत र नवजात शिशुमा हुने संक्रमणलाई ९० प्रतिशत घटाउने लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस्