तलब बृद्धिको माग गर्दै मजदूरहरु आन्दोलनमा,माग पूरा नभएसम्म हड्ताल फिर्ता नहुने चेतावनी

काठमाडौं, मंसिर १३ । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड, बुटवलमा कार्यरत मजदूरहरू पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
माग सम्वोधन गर्न पटक–पटक व्यवस्थापक र सञ्चालक समितिलाई आग्रह गर्दा समेत सुनुवाई नगरेको भन्दै गत शुक्रबारदेखि लिमिटेडमा कार्यरत कर्मचारीले सात बुँदे माग राख्खेर आन्दोलन थालेका हुन् ।
हड्तालका कारण विगत ६ दिनदेखि कम्पनीको सम्पूर्ण काम ठप्प छ । मजदूरहरूले अहिले खाइपाई आएको तलबका आधारमा ५ हजार र महङ्गी भत्ता ३५ सय गरी ८ हजार पाँच सय वृद्धि गरिनुपर्ने, कम्पनीले उपलब्ध गराएका अन्य भत्ताहरु शतप्रतिशत वृद्धि हुनुपर्ने, कम्पनीभित्र क्यान्टिनको व्यवस्था, जोखिम भत्ता, आवास, कर्मचारीहरुलाई कम्पनीमा शेयर र कर्मचारीहरूलाई ड्रेसको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन् ।
अखिल नेपाल औद्योगिक मजदुर यूनियन नेपाल हाइड्रो इलेक्ट्रिक लिमिटेडका अध्यक्ष भुवन गिरीले माग पूरा नभएसम्म हड्ताल फिर्ता नहुने बताए । ‘सरकारको श्रम ऐन–२०७४ को दफा ११६ को उपपफा २ अनुसार हाम्रा माग छन्’ गिरीले भने, ‘२०७३ सालदेखि हाम्रो तलब वृद्धि भएको छैन ।
कम्पनीमा १ सय ७८ मजदूरहरू कार्यरत छन् । कम्पनीको प्रमुख व्यवस्थापक भारतीय नागरिक राजेश अग्रवाल हुन् । उनले नेपाली कामदारप्रति कुनै सद्भाव नदेखाएको मजदूरहरूको आरोप छ ।
२०४२ सालमा स्थापना भएको कम्पनीले नेपालकै ठूला कालीगण्डकी जलविद्युत आयोजना, तिनाउ पावर कम्पनी, चमेलिया विद्युत आयोजनका काम गरिसकेको छ । कम्पनीका अध्यक्ष रतनसञ्चार श्रेष्ठ मजदुरका माग हेर्ने काम व्यवस्थापकको भएको भन्दै पन्छिए । व्यवस्थापनक अग्रवालले छलफलका लागि आफू तयार रहेको प्रतिक्रिया दिए ।
‘राज्यले दिएको श्रम ऐन भन्दा हाम्रो कम्पनीमा काम गर्ने मजदुरको तलब दोब्बर छ’ अग्रवालले भने, ‘छलफल गरी बोडले दिएको लिमिट अनुसार तलब वृद्धि गर्न सकिन्छ ।’
प्रतिक्रिया दिनुहोस्