भूमिहीन नागरिकले अब जग्गा र आवास दुवै सुविधा पाउने

काठमाडौं , मंसिर १३ । भूमिहीन नागरिकले अब आवास पाउने भएका छन् ।
सहरी विकास मन्त्रालयले भूमिहीन नागरिकलाई आवासको व्यवस्था गर्ने कार्यविधि बनाएसँगै भूमिहिनहरुले पनि जग्गा र आवास दुवै पाउने भएका हुन् ।
सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भूमिहिन नागरिकलाई आवास बनाउन जग्गा समेत उपलब्ध गराउने कार्यविधि तय गरिएको जानकारी दिए ।
बिहिबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले जनता आवास कार्यक्रमले अव गति लिने पनि बताए ।
मन्त्री राईले जनता आवास कार्यक्रममा अनियमितता गरेको पाइए कडा कार्वाही गर्ने चेतावनी पनि दिए ।
बैठकमा समितिका सदस्यहरुले जनता आवास कार्यक्रममा भ्रष्टाचार हुने गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।
मन्त्री राईले त्यसको जवाफ दिँदै भ्रष्टाचार गरेको पाइए दोषीमाथि कडा कार्वाही गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।
बैठकमा समितिका सदस्यहरुले भूमिहिन नागरिकहरुलाई उच्च प्राथमिकता दिएर जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारलाई सचेत गराएका थिए ।
समितिका सदस्य एवम् राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादवले भूहिहिनलाई उच्च प्राथमिकता दिएर जनता आवास कार्यक्रमलाई अघि बढाउन सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
उनले तराईमा दलित जातिहरु जमिनको अभावमा जनता आवास कार्यक्रमबाट बञ्चित हुनुपरेको भन्दै सरकारलाई सचेत गराए ।
समितिका अर्का सदस्य एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एकीकृत बस्ती विकास कार्यक्रमलाई व्यापक छलफल गरेर अघि बढाउन सरकारसँग आग्रह गर्नु भयो । उहाँले सहरी बस्ती विकास कार्यक्रमलाई अघि बढाउन ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
बैठकमा समितिका सदस्यहरुले सहरी विकास योजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्