माथिल्लो तामाकोशीको आइपीओ आज ३ बजे बाँडफाँट हुँदै

जागरण न्युज
काठमाडौं, ११ मंसिर । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओ आज (मंसिर ११ गते) दिउँसो ३ बजे बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीका अनुसार आइपीओ क्रिष्टल ब्यांकेट बबरमहल, काठमाडौंमा दिउँसो ३ः०० बजे बाँडफाँट गरिने छ ।
तामाकोशीको आइपीओमा धेरै मात्रामा दोहोर्याएर आवेदन दिएको भेटिएपछि बाँडफाँटमा केही ढिलाई भएको हो । यसमा करिब ६ हजार जनाले दोर्याएर आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ ।
तामाकोशीको आइपीओमा न्यूनतम पनि ४० कित्ता सेयर सबैले पाउने प्रारम्भिक अनुमान गरिएको छ । कर्मचारी र स्थानीयबासीका लागि तामाकोशीले यसअघि नै सेयर निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ । यसरी सेयर पाइसकेका मध्ये केहीले दोहोर्याएर भरेपछि छानबिन गर्दा बाँडफाँटमा केही ढिला भएको हो ।
तामाकोशीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० अकिंत दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो । सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरिएको हो ।

यसमा ६ अर्ब ७० करोड ५८ लाख २८ रुपैयाँ बराबरको आवेदन परेको छ । ३ लाख ४६ हजार १६६ जना आवेदकले ६ करोड ७० लाख ५८ हजार २८० कित्ताका लागि सेयर भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्