निर्मलाको बलात्कार सरकार चलाउनेकै छोराले गरेको विप्लवका प्रवक्ताको ठोकुवा, जनताका वीचमा ल्याएर कारवाही गर्ने चेतावनी

काठमाडौं, ९ मंसिर। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्यारालाई जनताका वीचमा ल्याएर कारवाही गर्ने विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले चेतावनी दिएका छन् ।
शनिबार राजधानीमा शक्ति प्रदर्शन गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले यो घटनामा सरकार सञ्चालन गरेर बसेका व्यक्तिकै छोराको संलग्नता रहेको ठोकुवा समेत गरेका छन् ।
सार्वजनिक आमसभास्थलबाटै प्रवक्ता प्रकाण्डले हत्यारा सरकार सञ्चालककै छोराछोरी भएको मात्र दाबी गरेनन्, उनले अब आफ्नै पार्टीले हत्याको अनुसन्धान गरेर बलात्कारी र हत्यारालाई कारवाही समेत गर्ने बताए ।
विभिन्न हिंसात्मक कारवाहीहरु गर्दै आएको विप्लव समूहले हत्यारालाई कारवाहीको धम्की दिएको र त्यसमा सरकार सञ्चालकलै सन्तानको संलग्नता रहेको बताएपछि नेताका छोराछोरीमाथि सुरक्षा चिन्ता थपिएको छ ।
राजधानीमा आयोजित विरोध सभामा बोल्दै शनिबार प्रकाण्डले भने- ‘यो सरकार न अपराधीलाई पत्ता लगाउन सक्छ, न त यसलाई कारवाही गर्न सक्छ । यसले के प्रष्ट गर्छ भन्दा सरकार नै निर्मला पन्तको हत्या र बलात्कारका घटनामा संलग्न छ भन्ने कुरा प्रष्ट हुन्छ ।’
उनले अगाडि भने- ‘सरकारका मान्छेहरु नै, सरकार चलाइराखेका मान्छेका छोराछोरी नै निर्मला पन्तको हत्या र बलात्कारमा संलग्न छन् भन्ने प्रष्ट हुन्छ । नत्र राज्य लागेपछि एउटा बलात्कारीलाई समात्न सकिँदैन ? एउटा हत्यारालाई समात्न सकिँदैन ?’
विश्वकर्माले अब आफ्नो पार्टीले हत्यारालाई समातेर कारवाही गर्ने बताउँदै भने- ‘हाम्रो पार्टीले अपराधीको अनुसन्धान गर्छ । हाम्रो पार्टीले अपराधी पत्ता लाउँछ र यो सरकारका अगाडि, जनताका वीचमा ल्याएर निर्मलाको हत्या र बलात्कार गर्ने अपराधीलाई कारवाही गर्नेछ ।’
प्रतिक्रिया दिनुहोस्