काठमाडौं, मंसिर ९। ‘लैङ्गिक हिंसा र दुर्व्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदैछ । हरेक नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ ।
अभियानको क्रममा विभिन्न संघसंस्थाले पदयात्रा, अन्तर्क्रिया, गोष्ठी, सार्वजनिक सुनुवाई र सञ्चारमाध्यममा चेतनामूलक कार्यक्रम गर्दैछन् । लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा र अपराध अन्त्य गर्न यो अभियान सुरु भए पनि लैगिंक हिंसाका घटना भने रोकिएका छैनन् । विश्वमा सन् १९९१ देखि र नेपालमा २०५४ सालदेखि अभियान सुरु गरिएको हो ।
अभियानका क्रममा दुई दिनसम्म सातै प्रदेशका, प्रदेशसभा सांसद, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव र सरोकारवाला निकायसँग अन्तक्र्रिया गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ । साझा यातायातले सार्वजनिक यातायातमा हुने यौन हिंसा विरुद्ध हिजोदेखि नै अभियान सुरु गरेको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति शून्य सहनशीलताको नीति लिइएको दाबी गरेका छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सन्देश दिंदै उनले लैङ्गिक हिंसाको अपराधमा संलग्न हुने जोसुकैलाई कानूनबमोजिम कडा सजाय दिन सरकार दृढ रहेको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्