सप्तरीमा तीर्थयात्री बोकेको बस पोखरीमा खस्यो, ५ जनाको मृत्यु, घाइते चार जनाको अवस्था चिन्ताजनक

काठमाडौं, मंसिर ८ । सप्तरीको भारदह–राजविराज सडकखण्ड अन्तर्गत इनरुवामा तीर्थयात्री बोकेको बस शुक्रबार राति दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये डाकनेश्वरी नगरपालिका वडा नम्बर ११ की वेचनीदेवी यादव, ६५ वर्षीया ठकनीदेवी यादव र ७० वर्षीया सिकिलदेवी साहको पहिचान खुलेको छ । अन्य मृतक २ जनाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिए । दुर्घटनामा ३ दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक छ ।
अधिकांश यात्रु डाक्नेश्वरी नगरपालिकाकै रहेको एसपी विष्टले जानकारी दिए । घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासिन्दाको सहयोगमा उद्धार भएको छ। दुर्घटनामा घाइते भएका अधिकांश डाकनेश्वरी नगरपालिकाको औरही, भूतही र लबका टोलका नै रहेका छन् ।
गम्भीर घाइते भएका ६ जना यात्रुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने अन्य यात्रुको राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल, भारदह अस्पताल र हनुमानगरस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
सुनसरीको बराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका झण्डै ६० जना यात्रु बोकेको को १ ख २७९९ नम्बरको छिन्नमस्ता माँ भगवती ट्राभल्सको बस सडक छेउमा रहेको पोखरीमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनाको कारण आधिकारिक रुपमा नखुले पनि पछाडिबाट मालबाहक ट्रकले ठक्कर हानेपछि बस सडक छेउकै पोखरीमा खसेको स्थानीयले जनाएका छन् ।
यसैबीचे दुर्घटनामा मृत्यु भएका परिवारलाई तत्काल जिल्ला समन्वय समिति सप्तरीका संयोजक प्रभाकर यादव मनोजले ५० हजार आर्थिक सहयोग व्यक्तिगत रुपमा सहयोग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्