जोशी हाइड्रोको १७ करोडको आईपिओ मंसिर १६ गतेदेखि, लगानी उठ्नै ११ वर्ष लाग्ने

जागरण न्युज
काठमाडौं, ०५, मंसिर । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मंसिर १६ गतेबाट करिब १७ करोड मूल्य बराबरको साधारण शेयर (आइपिओ) निष्काशनमा ल्याउने भएको छ । आईपिओले रेटिङ्ग कम्पनी इक्रा नेपालबाट आईपिओ ग्रेडिङ्गमा वित्तीय अवस्था सबैभन्दा कमजोर जनाउने इक्रा रेटिङ्ग “इक्रा एनपि र्आइपिओ ग्रेड ५” पाएको छ ।
हाइड्रोपावरले यसअघि इलामका स्थानीयका लागि निष्काशन गरेर अवितरित भएको स्थानीयको ६५ प्रतिशत जोडेर कूल १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४७० कित्ता बिक्रीमा लेराउन लागेको हो ।
हाइड्रोपावरले यसअघि इलामका स्थानीयका लागि निष्काशन गरेको जारीे ३ लाख ७१ हजार ४०० कित्तामध्ये एक लाख २९ हजार ३९० कित्ता शेयर मात्र बिक्री भएको थियो ।
यसमा अवितरित भएको २ लाख ४२ हजार १० कित्ता र सर्वसाधारणहरुलाई छुट्याईएको १४ लाख ४८ हजार ४६० कित्ता गरी कूल १६ लाख ९० हजार ४७० कित्ता आईपिओ बिक्रीमा ल्याउन लागेको हो ।

यसमध्ये ३ प्रतिशत अर्थात ५० हजार ७१४ कित्ता कर्मचारी र ८४ हजार ५२३ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर १५ लाख ५५ हजार २३३ कित्ता शेयर सर्वसाधारणमा निष्काशन हुनेछ ।

यो शेयरमा छिटोमा मंसिर १९ गतेसम्म र ढिलोमा पुस १६ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । जसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन गर्ने व्यवस्था छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा पहिलो आयोजनाको रुपमा २०७१ माघ १ गतेबाट ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा सञ्चालन गरिरहेको छ। कम्पनीले उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।

चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ भएको यस कम्पनीले इलामका स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत र सर्वसाधारणको लागि ३९ प्रतिशत गरि कूल ४९ प्रतिशत शेयर बिक्री गरे पूँजी संकलन गर्नेछ । बाँकी ५१ प्रतिशत पूँजी संस्थापकबाट उठाइनेछ । आयोजना निमार्णका लागि आवश्यक पूँजी बैंक ऋणबाट उपयोग गर्नेछ ।

हाइड्रोपावरको लगानी उठ्नै ११ वर्ष लाग्ने

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपिओ निष्काशन गर्न बुधबार सार्वजनिक गरेको आह्वानपत्र (विवरणपत्र) मा यस कम्पनीले आफ्नो लगानी उठाउन ११ वर्ष समयावधि लाग्ने कम्पनीको प्रक्षेपण छ । यसको अर्थ अहिले यस कम्पनीको गरिएको लगानी ११ वर्षभित्र उठ्ने छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा सञ्चालन गरिरहेको ३ मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने उल्लेख छ । यो लागत अनुसार यस आयोजनाको प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्