तेह्रथुम पनि वाम गठबन्धनको क्लिनस्वीप

काठमाडौं । तेह्रथुममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले क्लिनस्वीप गरेको छ ।

प्रतिनिधिसभातर्फ नेकपा एमालेका भवानीप्रसाद खापुङ निर्वाचित भएका छन् । एमालेबाट तेस्रो पटक उम्मेदवार बनेका खापुङले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले पराजित गरे ।

खापुङले २१ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी गुरुङले १९ हजार ३ सय १४ मत प्राप्त गरिन् ।

प्रदेश सभातर्फ ‘क’ क्षेत्रमा लक्ष्मण तिवारी र ‘ख’ क्षेत्रमा तेजमान कन्दङ्वा विजयी भएका छन् । प्रदेश सभा ‘क’मा एमाले जिल्ला अध्यक्ष समेत रहेका तिवारीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई १ हजार ४ सय ६६ मतले पराजित गरे ।

तिवारीले ११ हजार ७ सय २६ मत र ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ‘ख’तर्फ पनि एमालेकै तेजमान कन्दङ्वा विजयी भए । उनले नेपाली कांग्रेसका विजय सम्बाहाम्फेलाई २ हजार २ सय ५५ मतले पराजित गरेका छन् ।

कन्दङवाले १० हजार ३ सय २ मत प्राप्त गरे भने सम्बाहाम्फेले ८ हजार ४७ मत पाए ।

प्रतिक्रिया दिनुहोस्