माथिल्लो तामाकोशीको आईपिओ बाँडफाँड शुक्रबारसम्ममा, दोहोर आवेदन रद्ध हुने

काठमाडौं, २ मंसिर । माथिल्लो तामाकोशी जलविद्युत आयोजनको आईपिओ बाँडफाँडमा तोकिएको समय भन्दा बढि लाग्ने भएको छ । सञ्चयकोषका बचतकर्ता, ऋणदाता संस्थाका कर्मचारी, आयोजना प्रभावित लगायतका लागि २ पटक आईपिओ निष्काशन भईसकेकोमा तेस्रो पटक पनि तिनै आवेदकको दोहोरो आवेदन धेरै परेकाले बाँडफाँडमा ढिलाई भएको हो ।
यसअघि नै आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सनराइज क्यापिटलले दोहोरो आवेदनका कारण शेयर बाँडफाँडको समय पर धकेलिने बताएका थिए ।
सोमबारसम्म पनि दोहोरो आवेदन गर्नेहरुको खोजी चलिरहेको छ । सोमबारसम्ममा ६ हजारभन्दा बढीको संख्यामा दोहोरो आवेदन गर्नेहरु फेला परेका परिसकेका छन् । अझै धेरै संख्यामा यस्ता आवेदकहरु भेटिने आँकलन गरिएको छ ।
सबै आवेदन रुजु गर्दा अझै धेरै आवेदन रद्ध हुने बताइएको छ । यसका साथै अन्य कारणले आवेदन रद्ध हुनेको संख्या पनि धेरै हुन सक्ने आँकलन गरिएको छ ।
सनराइज क्यापिटलका अनुसार दोहोरो आवेदन गर्नेहरुको आवेदन स्वतः रद्ध हुनेछ । सर्वसाधारणमा निष्काशन गरिएको १ करोड ५० लाख ९० हजार ७५० कित्ता शेयरका लागि ३ लाख ४६ हजार बढीले आवेदन गरेका थिए ।
नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट नभएका नभएका शेयर आवेदन भने रद्द हुनेछ । कम्पनीले यही कात्तिक १५ गतेदेखि कूल पूँजीको १५ प्रतिशतले हुन आउने रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । यही कात्तिक १९ गतेसम्म देशभरबाट आवेदन सङ्कलन गरेको थियो ।
शेयर आवेदन गर्ने सबैलाई दश कित्ता न्यूनतम शेयर दिनुपर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार नै बाँडफाँड हुने अवस्था रहेको छ । कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्