काठमाडौं घोषणापत्र जारी गर्दै ‘कोलम्बो प्रोसेस’ बैठक सकियो, के छ त घोषणापत्रमा ?

काठमाडौं, १ मंसिर । काठमाडौं घोषणापत्र जारी गर्दै ‘कोलम्बो प्रोसेस’ बैठक शुक्रबार सम्पन्न भएको छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र नियमित बनाउने उद्देश्यले आयोजित छैटौं मन्त्रीस्तरीय परामर्श बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य, श्रम, आप्रवासी महिला कामदारको समान अधिकार र आप्रवासी श्रमिकका लागि कन्सुलर सेवालगायतका विषय घोषणापत्रमा समेटिएका छन् ।
श्रमसचिव महेश दाहालले बैठकले कानुनी प्रावधानहरुलाई समेटेको जानकारी दिँदै श्रमिक सुरक्षाको पक्षलाई बलियो बनाइने बताए ।
श्रमिक सुरक्षाका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठनलगायतका संस्थाहरुसँग मिलेर काम गर्ने भएकाले बैठकबाट पारित निर्णयहरुले विदेशमा काम गर्ने नेपाली श्रमिकलाई थप सुरक्षित बनाउने उनको भनाइ थियो ।
दुईदिने बैठक बिहीबार काठमाडौंमा सुरु भएको थियो ।
अन्तर्राष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श गर्ने उद्देश्यले ‘कोलम्बो प्रोसेस’ सन्चालित छ । यसमा १२ राष्ट्र सदस्य र ८ राष्ट्र पर्यवेक्षककारूपमा आबद्ध छन् ।
अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड र भियतनाम कोलम्बो प्रोसेसका सदस्य राष्ट्र हुन् ।
वैदेशिक रोजगारीमा कामदार पठाउने राष्ट्रहरूको साझा मञ्चकारुपमा सन् २००३ मा यो गठन भएको हो ।
सन् २००३ मा श्रीलंकामा आयोजित ‘लेवर माइग्रेसन मिनिस्टेरिल कन्सल्टेन्स फर कन्ट्रिज अफ ओरिजिन इन एसिया’ विषयक कार्यक्रमको उपजकारूपमा कोलम्बो प्रोसेसको स्थापना भएको हो । मन्त्रीस्तरीय बैठकबाट कोलम्बो प्रोसेस परिचालित हुन्छ ।
प्रतिक्रिया दिनुहोस्