काठमाडौं, २९ कार्तिक । नेपाल वायुसेवा निगम उच्च जोखिममा रहेको भन्दै निगमले सरकारसंग सहायता मागेको छ ।अन्य निजि कम्पनीले नाफा कमाई रहेको बेला निगममा मात्र संधै घाटा र जोखिम हुने गरेको छ ।
निगमले बिहिबार स्वेतपत्र जारी गर्दै निगम आन्तरिक ऋणले डुबेर उच्च जोखिममा रहेको भन्दै सरकारसंग सहायता माग गरेको हो ।
श्वेतपत्रमा निगमको ऋण रु.३२ अर्ब ८७ करोड पुगेको देखाइएको छ । दीर्घकालिन पुँजी जम्मा रु.३९ अर्ब ८२ करोड रहेको कम्पनीको ऋण नै रु.३२ अर्ब ८७ करोड पुगेको छ । निमगको वार्षिक ऋणको ब्याजमात्रै साढे १० प्रतिशतका दरले भुक्तानी गर्नुपर्ने हुँदा निगमलाई उच्च जोखिम भएको निगमले जनाएको छ । जसका कारण निगमको तरलता र नाफामा सिधै असर पर्न गएको श्वेतपत्रमा उल्लेख गरेको छ ।
स्वेतपत्रमा समस्या समाधानमा चाल्नुपर्ने कदमका बारेमा पनि उल्लेख गरिएको छ । यस्तो वित्तीय अवस्थालाई निगमको अनुकुल बनाउन नेपाल सरकारले तुरुन्तै ऋण उललब्ध गराएर वित्तीय जोखिम न्यूनीकरण गर्न सक्ने भन्दै श्वेतपत्रमा माग उल्लेख गरिएको छ ।
यस्तै निगमले तिर्नुपर्ने दायित्व उच्च रहेको र बाइडबडी जहाजले व्यावसायिक योजना अनुसार काम गर्न नसकिरहेको अवस्थामा सरकारले विशेष सहयोग गर्नुपर्नेमा जोड दिइएको छ ।
श्वेतपत्र जारी गर्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेलले वाईडबडी विमान खरिदसँगै निगमले तिर्नुपर्ने आर्थिक दायित्व धेरै भएकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरिएको बताए ।
वाइडबडी विमानको व्यवसायिक योजना अनुसार संचालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न तत्कालै नेपाल सरकारबाट आर्थिक सहायता आवश्यक भएको उनको भनाई छ ।
यद्यपी अध्यक्ष खरेलले यो आर्थिक संकट भने अस्थायी रहेको जानकारी दिए । चार महिना भित्र वाइडबडी विमानले जापान, दक्षिण कोरिया, चीन र साउदी अरेवियाको उडान भर्ने र त्यसपछि निगमले अधिकतम मुनाफा आर्जन गर्ने अध्यक्ष खरेलको दाबी गरे । त्यसपछि निगम आफै्रले सबै ऋण चुक्ता गर्छ उनले भने, “ निगमले सीमित स्रोत, साधानका कारण बेलाबेला आफ्नो सेवामा बाधा आउने गरेकोले यस्तो समस्या आएको हो । ”
निगमले दुईवटा ‘वाइड बडी’ विमान खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको भन्ने विषयमा भने निगमले कुनै पनि कुरा बोलेनन् । कार्यकारी अध्यक्ष मदन खरेलले वाइड बडी खरिद प्रक्रियामा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिन आलटाल गरे । उनले भने, “ श्वेतपत्र जारी सम्बन्धीको जानकारीका लागि गरिएको पत्रकार सम्मेलन हो । वाइड बडी खरिदबारे उठेका प्रश्नको जवाफ दिन अर्काे पत्रकार सम्मेल गछौँ । त्यसै बेला अन्य कुरा गरौला । ”
अध्यक्ष खरेलले निगमको सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरणहरुको उचित व्यवस्थालाई सधार गर्नुपर्ने औल्याए ।
सरकार, सञ्चालक समिति, राजनीतिक दल र कर्मचारीका लापरवाहीका कारण यस्तो चरम जोखिममा पुगेको हो । अन्य निजि कम्पनीले नाफा कमाई रहेको बेला निगम मात्र संधै घाटा र जोखिम हुने गरेको छ । हाल निगमसँग १०१२ स्थायी कर्मचारी र ४८३ करारका कर्मचारी रहेकोको छ ।
प्रतिक्रिया दिनुहोस्